‘बाढी प्रभावित क्षेत्रमा महिला र बालबालिकाको सुरक्षा प्राथमिकतामा’
काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले बाढी प्रभावित क्षेत्रका महिला तथा बालबालिकाको सुरक्षा, गोपनीयता र अधिकार संरक्षणलाई प्राथमिकता दिइएको बताउनुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा मन्त्री बादीले मानव बेचबिखन तथा गैरकानुनी ओसारपसार र विस्थापित बालबालिकालाई कानुनविपरीत स्थानान्तरण गर्ने जोखिम रोक्न आवश्यक समन्वय गरिएको जानकारी दिनुभयो ।
मन्त्री बादीले परिवारका सदस्य गुमाएकाहरू र अस्थायी आश्रयस्थलमा रहेका बालबालिकाको हेरचाह गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रभावित क्षेत्रमा महिला–मैत्री सुरक्षित स्थान र मनोसामाजिक सहायता संयन्त्रको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
बैठकमा सांसदहरूले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका राहत शिविर र अस्थायी आश्रयस्थलमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहलाई यौन हिंसा र सबै प्रकारका उत्पीडनबाट संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रभावित क्षेत्रको अनुगमनका क्रममा बालबालिका, सुत्केरी महिला तथा ज्येष्ठ नागरिकमा पौष्टिक खाना र स्वास्थ्य सुविधाको अभाव देखिएको भन्दै तत्काल पौष्टिक खाद्य सामग्री, औषधि तथा आकस्मिक उपचारको व्यवस्था गर्न सांसदहरूले ध्यानाकर्षण गराउनुभयो ।
यस्तै, सांसदहरूले राहत तथा पुनर्स्थापनामा बालमैत्री संरक्षण मापदण्डको पालना, हिंसा विरुद्ध सुरक्षित उजुरी संयन्त्रको व्यवस्था तथा सम्भावित सङ्क्रामक रोगको नियन्त्रण र रोकथाममा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरूले बिछोडिएका वा विस्थापित बालबालिकाको परिवार पहिचान तथा पारिवारिक पुनर्मिलन र प्रभावित नागरिकहरूलाई आवश्यक मनोसामाजिक परामर्श दिने कार्यलाई तीव्रताका साथ अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्