तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा: आमा सुरक्षा कार्यक्रम पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने सांसदहरूको माग

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले आमा सुरक्षा कार्यक्रमलाई बच्चा जन्माउने मात्रै नभई, सुरक्षित मातृत्वको सम्पूर्ण पक्षमा राज्यले निःशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने सरकारसमक्ष माग राख्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आउनुभएकी गर्भवती बबिताकुमारी पासवानलाई अस्पतालले बेवास्ता गरेपछि सडकमै बच्चा जन्माउनुपरेको घटनाबारे सरकारसमक्ष ध्यानाकर्षण गराउनुभएको हो । उहाँले अस्पतालमा आएकी प्रसव पीडामा छट्पटाइरहेकी महिलालाई अस्पतालले तुरुन्तै भर्ना गर्नुपर्ने बताउनुभयो । यस्तो घटना अब दोहोरिन नदिन र अस्पतालले बबितामाथि गरेको अमानवीय व्यवहारप्रति छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्नुभयो । 

सांसद कार्कीले अस्पतालहरूमा ‘नो डिनायल इन लेवर’ नीति तुरुन्तै लागू गराउनुपर्ने समेत बताउनुभयो । उहाँले आमा सुरक्षा कार्यक्रममा ‘फ्रि डेलिभरी’ कार्यक्रम खाली बच्चा जन्माउने काममा मात्रै नभई गर्भवती भएपछि बच्चा जन्माउनेसम्मको समग्र प्रक्रियामा आमा सुरक्षा कार्यक्रम निःशुल्क व्यवस्था राज्यले गर्नुपर्ने बताउनुभयो ।

आमा सुरक्षा कार्यक्रम निःशुल्क सेवा प्रदान कार्यक्रमलाई राज्यले विशेष दायित्वका साथ कार्यान्वयन गर्नुपर्ने सांसदहरुले बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सांसद भूमिका लिम्बू सुब्बा र नेपाली कांग्रेसका सांसद गीता गुरुङले सुरक्षित मातृत्व राज्यको जिम्मेवारी रहेको बताउनुभयो ।

यसैगरी, आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद रेनुका काउचा र जयपति रोकायाले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत, पुनःस्थापना तथा जीविकोपार्जनका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

रास्वपाका सांसद राजन गौतमले विपद् जोखिम कम गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित धौवादी फलाम खानी क्षेत्रमा धुवाँ निस्किरहेको भन्दै सम्भावित जोखिमप्रति सचेत हुन सरकारको ध्यानाकर्षण गराउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button