धार्चेका महिलाको सामूहिक मार्सी धान खेतीले फर्कायो हरियाली
गोरखा। बाँदरको आतङ्कका कारण वर्षौँदेखि बाँझो बन्दै गएका गोरखाको धार्चे गाउँपालिका–३ उहियाका पाखापखेरा यतिबेला मार्सी धानले हरियाली भएका छन् । खेतीपातीबाट स्थानीय बासिन्दा क्रमशः टाढिँदै गएको अवस्थामा उहियाका महिलाले सामूहिक रूपमा रैथाने मार्सी धानको खेती सुरु गरेपछि बाँझो जमिनमा पुनः उत्पादनको सम्भावना देखिएको हो ।

धार्चे गाउँपालिका कृषि शाखाको प्रोत्साहनमा समेत स्थानीय कृषकले मार्सी धान खेतीलाई विस्तार गर्दै लगेका छन् । कृषि अधिकृत अनिल नेपालीका अनुसार स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीको संरक्षणसँगै बाँझो जमिनको सदुपयोग र कृषकको आयआर्जन बढाउने उद्देश्यले मार्सी धान खेतीका लागि प्रोत्साहन गरिएको हो ।
उहियामा उहिया कृषक आमा समूहको नेतृत्वमा सुरु भएको सामूहिक खेती अहिले विस्तार हुँदै गएको छ । खेतीले उत्पादन बढाउनुका साथै गाउँका महिलालाई सामूहिक रूपमा आम्दानी गर्ने अवसरसमेत सिर्जना गरेको छ ।

समूहकी संस्थापक प्रमिना घलेका अनुसार विसं २०८१ सालमा २० रोपनी जमिनबाट मार्सी धान खेती सुरु गरिएको थियो । पहिलो वर्ष २१ मुरी धान उत्पादन भएकोमा दोस्रो वर्ष उत्पादन बढेर ३० मुरी पुगेको थियो । यस वर्ष भने उत्पादन करिब ५० मुरी पुग्ने अनुमान गरिएको छ ।
उत्पादनसँगै खेतीको क्षेत्रफलसमेत बढाइएको छ । यस वर्ष समूहले करिब ४० रोपनी क्षेत्रफलमा मार्सी धान खेती गरेको थियो । धान भित्र्याएपछि खाली हुने खेतमा समूहले फापर खेतीसमेत गर्दै आएको घलेले बताउनुभयो ।
“बाँदरबाट खेतीपाती जोगाउन एक्लैले सम्भव थिएन,” घलेले भन्नुभयो, “समूह बनाएपछि आलोपालो गरेर बाँदर कुर्ने, खेती गर्ने र उत्पादन बिक्री गर्ने गरेका छौँ । यसले खेर गइरहेको बाँझो जमिनको सदुपयोगसँगै आम्दानी पनि दिएको छ ।”
बाँदरको समस्याबीच खेतीको नयाँ विकल्प
उहिया क्षेत्रमा बाँदरको समस्या लामो समयदेखि कृषकका लागि ठूलो चुनौती बन्दै आएको छ । बाँदरका कारण कोदो, मकै, गहुँलगायतका परम्परागत बालीमा क्षति हुन थालेपछि धेरै कृषकले खेती गर्न छाडेका थिए । खेतबारीमा लगाएको बाली पाक्नुअघि नै बाँदरले नष्ट गर्न थालेपछि कतिपय जमिन वर्षौँदेखि बाँझै रहँदै आएका थिए ।
यस्तो अवस्थामा स्थानीय महिलाले सामूहिक रूपमा खेती गर्ने नयाँ अभ्यास सुरु गरेका हुन् । समूह बनाएर आलोपालो खेतीको निगरानी गर्न थालेपछि बाँदरबाट हुने क्षति कम गर्न सहयोग पुगेको कृषकहरूको भनाइ छ ।
स्थानीय कृषकका अनुसार पहिले उहियामा मार्सी धान मुख्यतः घरायसी प्रयोजनका लागि मात्र उत्पादन गरिन्थ्यो । पछिल्ला तीन वर्षदेखि भने महिलाहरूले सामूहिक रूपमा व्यावसायिक खेती गर्न थालेपछि मार्सी धानले व्यावसायिक रूप लिन थालेको हो ।
मार्सी धान स्थानीय वातावरण र भूगोलअनुकूल रैथाने बाली भएकाले यसको संरक्षणसँगै बजारमा बढ्दो मागलाई समेत ध्यान दिएर खेती विस्तार गरिएको कृषकहरूको भनाइ छ ।
उत्पादनसँगै आम्दानी पनि बढ्दै
उहिया कृषक आमा समूहमा २२ जना महिला आबद्ध छन् । समूहले उत्पादन गरेको कुटानी नगरेको मार्सी धान प्रतिपाथी २२५ रुपैयाँका दरले बिक्री गर्दै आएको छ । त्यसैगरी उत्पादन गरिएको फापर प्रतिपाथी ५०० रुपैयाँका दरले बिक्री हुने गरेको समूहले जनाएको छ ।
मार्सी धान र फापरको बजारमा माग राम्रो रहे पनि दुर्गम गाउँबाट बजारसम्म उत्पादन पु¥याउनु भने चुनौतीका रूपमा रहेको कृषकहरू बताउँछन् । सडक तथा यातायातको सहज पहुँच नहुँदा उत्पादन बजारसम्म पु¥याउँदा लागत बढ्ने गरेको उनीहरूको भनाइ छ ।

तर स्थानीयस्तरमै उत्पादन भएको रैथाने मार्सी धानको माग बढ्दै गएपछि आगामी दिनमा खेतीको क्षेत्रफल थप विस्तार गर्ने समूहको योजना छ ।
बाँझो जमिनमा फर्कियो हरियाली
कृषि कर्मबाट टाढिँदै गएको ग्रामीण क्षेत्रमा उहियाका महिलाको सामूहिक खेतीले बाँझो जमिनको उपयोग, रैथाने बालीको संरक्षण र स्थानीय आयआर्जनका लागि नयाँ सम्भावना देखाएको छ ।
कृषि छाडेर अन्य पेशा तथा वैदेशिक रोजगारीतर्फ जाने क्रम बढिरहेको अवस्थामा गाउँमै सामूहिक खेती गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणसमेत उहियाका महिलाले प्रस्तुत गरेका छन् ।
धार्चे गाउँपालिका कृषि शाखाले समेत स्थानीय कृषकलाई आवश्यक प्राविधिक सहयोग र प्रोत्साहन प्रदान गर्दै आएको जनाएको छ । कृषि अधिकृत नेपालीका अनुसार स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीको संरक्षण गर्दै व्यावसायिक खेतीतर्फ कृषकलाई आकर्षित गर्ने कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
“स्थानीय बालीको संरक्षणसँगै कृषकको आयआर्जन बढाउनु हाम्रो उद्देश्य हो,” कृषि अधिकृत नेपालीले भन्नुभयो, “उहियाका महिलाले सामूहिक रूपमा मार्सी धान खेती गरेर राम्रो उदाहरण प्रस्तुत गर्नुभएको छ । यस्ता प्रयासलाई थप प्रोत्साहन आवश्यक छ ।”
महिलाको नेतृत्वमा नयाँ सम्भावना
उहिया कृषक आमा समूहको पहलले महिलाको नेतृत्वमा सामूहिक कृषि व्यवसाय गर्न सकिने सम्भावनासमेत देखाएको छ । व्यक्तिगत रूपमा खेती गर्दा श्रम, सुरक्षा र बजार व्यवस्थापनमा समस्या हुने भए पनि समूह बनाएर काम गर्दा ती चुनौती केही हदसम्म समाधान गर्न सकिएको कृषकहरू बताउँछन् ।
सामूहिक रूपमा खेती गर्दा श्रम व्यवस्थापन, बालीको सुरक्षा, उत्पादन सङ्कलन र बिक्री वितरणमा सहज भएको उनीहरूको अनुभव छ । यसले महिलालाई घरायसी काममा मात्र सीमित नराखी स्थानीय आर्थिक गतिविधिमा सक्रिय बनाएको छ ।
उहियाका महिलाको यो प्रयासले एकातर्फ बाँदरका कारण छाडिएको जमिनलाई पुनः उत्पादनमा ल्याएको छ भने अर्कोतर्फ स्थानीय रैथाने बाली मार्सी धानको संरक्षण र प्रवद्र्धनमा समेत योगदान पु¥याएको छ ।
स्थानीय तह, कृषि शाखा र कृषक समूहबीच थप सहकार्य हुन सकेमा आगामी दिनमा मार्सी धानको क्षेत्रफल र उत्पादन अझ बढाउन सकिने सम्भावना रहेको कृषकहरूको भनाइ छ ।
बाँदरको आतङ्कले उजाडिएका उहियाका पाखापखेरामा अहिले लहलहाएको मार्सी धान केवल एउटा बाली मात्र बनेको छैन, स्थानीय महिलाको सामूहिक प्रयास, रैथाने बाली संरक्षण र गाउँमै आयआर्जनको सम्भावनाको स्रोत समेत बनेको छ ।







प्रतिक्रिया राख्नुहोस्