तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध

बाजुरा। अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ।

शनिबार रातिदेखि लगातार परेको वर्षाका कारण बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायतका स्थानमा सडक माथिबाट पहिरो खसेपछि यातायात ठप्प भएका प्रहरीले जनाएको छ।

यस्तै, बडीमालिका नगरपालिका–८ को राप्का र वडा नम्बर ६ को जडाङ्गालगायतका स्थानमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिनुभयो।

पहिरोले सडक अवरुद्ध भएपछि प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलतर्फ खटाइएको र प्रहरी टोलीले बडीमालिका नगरपालिका र सडक विभागको जेसीबी प्रयोग गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो । सडक अवरुद्ध भएपछि साँफे–मार्तडी सडकखण्डमा आवतजावत प्रभावित भएको छ भने गन्तव्यतर्फ हिँडेका सवारीसाधन बाटोमै रोकिएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button