इलाममा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

इलाम । इलाममा बेली ब्रिज निर्माण सामग्री बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बिहीबार साँझ करिब ४ः४५ बजे इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा झापाबाट इलामतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट डब्लु बी २९बी २९४४ को ट्रक अनियन्त्रित भई सडकबाट करिब पाँच मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा ट्रकका सहचालक भारत, दक्षिण दिनाजपुर, गंगारामपुर बस्ने करिब ३८ वर्षीय सुवास बर्मुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
ट्रक चालक भारतकै सोही स्थानका करिब ३० वर्षीय रबिन बर्मुनको बाहिरी चोटपटक नदेखिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। त्यस्तै, ट्रकमा सवार सिन्धुपाल्चोक, चौतारा नगरपालिका–३ का २९ वर्षीय आशबहादुर तामाङको बायाँ हातमा सामान्य चोट लागेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक प्रविण जोशी ज्ञवालीको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
घाइते दुवै जनालाई उपचारका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्