तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतबाट उद्धार गरिएको संरक्षित वन्यजन्तु घोरललाई सदर चिडियाखाना ललितपुर पठाइयो 

सुर्खेत । सुर्खेतबाट उद्धार गरिएको संरक्षित वन्यजन्तु घोरललाई थप संरक्षणका लागि ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना पठाइएको छ । 

डिभिजन वन कार्यालय सुर्खेतले गत असार १२ गते वीरेन्द्रनगर–१४, बाट उद्धार गरिएको भाले घोरललाई आज कानूनी प्रक्रिया पुरा गरी थप संरक्षण तथा व्यवस्थापनका लागि सदर चिडियाखाना पठाइएको पठाएको हो । 

उद्धार गरिएयता करिब पाँच महिनासम्म डिभिजन वन कार्यालय सुर्खेतकै रेखदेखमा पालेर राखिएको उक्त घोरलको कार्यालय स्तरबाट दीर्घकालीन व्यवस्थापन गर्न कठिन भएपछि चिडियाखाना पठाउने निर्णय गरिएको डिभिजनल वन अधिकृत राधाकृष्ण दासले जानकारी दिनुभयो । 

उहाँले घोरलको उचित व्यवस्थापनका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यालयमार्फत सदर चिडियाखाना ललितपुरलाई हस्तान्तरण गरिएको बताउनुभयो । 

उहाँका अनुसार बच्चा सानो उमेरको भएकाले प्राकृतिक बासस्थान (जङ्गल) मा एक्लै छाड्दा बाँच्न नसक्ने अवस्था देखिएपछि विशेषज्ञ पशु चिकित्सा सेवा र सुरक्षित वातावरणका लागि चिडियाखाना पठाउने निर्णय गरिएको हो । 

कर्णालीका पहाडी तथा हिमाली क्षेत्रमा पाइने महत्वपूर्ण स्तनधारी वन्यजन्तु घोरलको चोरीसिकारी तथा बासस्थान विनाशका कारण पछिल्लो समय संरक्षणमा समस्या हुँदै आएको छ । यस वर्ष जिल्लाका विभिन्न स्थानबाट १४ वटा विभिन्न जातका वनजन्तुको उद्धार गरी सुरक्षित वासस्थानमा छोडिएको उहाँको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button