तपाईँ सुन्दै हुनुहुन्छः

वर्षौँदेखि कोसीको भेलले घर मात्रै बगाउँदैन, श्रीलङ्का टापुका मानिसको ‘सपना’ पनि बगाउँछ

सुनसरी। रातको समय थियो।सबैजना आ–आफ्नो घरमा सुतिरहेका थिए। दिनभरको थकानपछि निद्रामा पुगेका उनीहरूलाई के थाहा, केही क्षणमै घरभित्रै कोसी पस्दै छ भनेर!

एक्कासी पानी घरभित्र पस्यो। सामान समेट्ने न समय थियो, न त के बचाउने र के छाड्ने भन्ने सोच्ने फुर्सदै। जसरी हुन्छ, ज्यान जोगाउनु नै सबैभन्दा ठूलो प्राथमिकता बन्यो।

मन्सु कुमारी उरावले जसोतसो घरबाट निस्किएर ज्यान बचाइन्। तर घरभित्र रहेका सामान, वर्षौँको कमाइ र आफूले जोडेको सानो संसार त्यही भेलमै छुट्यो।

“सुतिरहेका बेला एक्कासी कोसीको छाल घरभित्र पस्यो। सरसामान केही निकाल्नै पाएनौँ। भागेर जसोतसो ज्यान जोगायौँ,” स्थानीय चनौ देवी चन्द्रवंशीले आफ्नो सातो उडेको त्यो रात सम्झिइन्।

यो एउटा परिवारको मात्रै कथा होइन।
उदयपुर र सुनसरीको सिमावर्ती क्षेत्रमा पर्ने श्रीलङ्का टापुमा अहिले कोसीको भेलसँगै यस्तै कथा दोहोरिइरहेका छन्। बर्खा सुरु भएसँगै उर्लिएको सप्तकोसीले खेतबारी कटान गर्दै बस्ती छुन थालेपछि यहाँका मानिसको जीवन नै अनिश्चित बनेको छ।

भदौ ३ गते कोसीको भेल बस्तीमा पसेपछि १७ घरपरिवार घर छाडेर खुला चौरमा अस्थायी टहरा बनाएर बसिरहेका छन्। थप २८ घरपरिवार उच्च जोखिममा छन्।

घरमा बसिरहेका परिवारको अवस्था पनि विस्थापितभन्दा खासै फरक छैन। उनीहरूलाई थाहा छैन अर्को भेल कहिले आउँछ र बाँकी रहेको घर पनि कहिले बगाउँछ।

‘कोसीको डरले राति निद्रा लाग्दैन’
दुर्गा उरावका लागि रात भनेको आराम गर्ने समय होइन, डराउने समय बनेको छ।

उनले भनिन् ‘कोसीको डरले राति निद्रा लाग्दैन। जाऊँ कहाँ जाऊँ रु खुला चौरतिर टहरो हाल्दा सेनाले हप्काउँछ,’।

टापु आसपासको क्षेत्र कोसी टप्पु वन्यजन्तु आरक्षको संरक्षित क्षेत्रमा पर्ने भएकाले जथाभाबी बसोबास गर्न नदिइने स्थानीयको भनाइ छ। त्यसैले अहिले उनीहरूको जीवन दुई खतराको बीचमा अडिएको छ।

कोसीबाट बच्ने कि बस्ने ठाउँ खोज्ने?
दुर्गा उरावका लागि रात भनेको आराम गर्ने समय होइन, डराउने समय बनेको छ। “कोसीको डरले राति निद्रा लाग्दैन। जाऊँ भने पनि कहाँ जाऊँ? खुला चौरतिर टहरो हाल्दा सेनाले हप्काउँछ,” उनले दुःख पोखिन्।

श्रीलङ्का टापु आसपासको क्षेत्र ‘कोसी टप्पु वन्यजन्तु आरक्ष’को संरक्षित क्षेत्रमा पर्ने भएकाले यहाँ जथाभाबी बसोबास गर्न दिइँदैन। त्यसैले अहिले उनीहरूको जीवन दुई ठूला खतराको बीचमा अड्किएको छ— कोसीको बाढीबाट बच्ने कि बस्ने सुरक्षित ठाउँ खोज्ने?

बिजुली, सञ्चार र सडक सञ्जालविहीन यो बस्तीमा वर्षायाम लागेपछि बाहिरी संसारसँगको सम्बन्ध झनै टुट्छ।

“कुन बेला बाढी पसेर क्षति पुर्‍याउने हो, टुङ्गो छैन। दिनरात यही कुराले पिरोल्छ। कोसी सुसाएको आवाज सुन्नेबित्तिकै बाढी आयो कि भनेर आत्तिएर दौडादौड हुन्छ। यस्तै डरैडरमा जीवन बाँचिरहेका छौँ,” मदन चन्द्रवंशीले भने।

खेतीपाती र बास दुवै गुम्दाको सकस
यहाँका अधिकांश परिवारको जीवन खेतीपातीमा निर्भर छ। तर, जीवन धान्ने खेत नै वर्षैपिच्छे कोसीले काट्दै लगेपछि रोजीरोटीको आधारसमेत हराउँदै गएको छ।

कुस्मीदेवी उरावका अनुसार खेतबारी हुँदासम्म त्यसैको कमाइले छाक टर्थ्यो। “अब त कटानको यही रफ्तार रहे जीवनै लैजाला कि भन्ने पीर छ, कमाइ खाने जमिन नै नरहने भयो,” उनले भनिन्।

चनु देवी चन्द्रवंशीले आफ्नो जीवनमा एकपटक होइन, पटक–पटक बास सारिसकेकी छन्। “यो सम्म सात पटक कुम्लोकुटुलो बोकेर वास सर्यौँ, अब कहाँ जाने?” उनले सोधिन्। उनले वर्षौँदेखि खेती गर्दै आएको जमिनको ठूलो हिस्सा कोसीले बालुवामा परिणत गरिसकेको छ। “आलु, टमाटर, बन्दा र काउली रोपेको १० कठ्ठा जमिन कोसीले कटान गरेर लगिसक्यो। अब त बाली लगाउने जमिनसमेत छैन।”

मानिस केवल घर बगेपछि मात्र विस्थापित हुँदैन, गरिखाने जमिन बगेपछि पनि विस्थापित बन्छ भन्ने उदाहरण यहाँ देख्न सकिन्छ। अहिले चनु देवीसहित १७ परिवार सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित खुला चौरमा टहरा बनाएर बसेका छन्। उनीहरूसँग अहिले बाँकी छ— केवल ज्यान, आङका केही कपडा र अनिश्चित भविष्य।

नगरपालिकाले दिएको १० हजारले के किन्ने?
बराहक्षेत्र नगरपालिकाले तत्कालका लागि विस्थापित परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ राहत उपलब्ध गराएको छ। तर बाढीले सर्वस्व गुमाएका परिवारका लागि यो रकम अत्यन्तै न्यून छ।

मनिका देवी मण्डल भन्छिन्, “दाल, चामल, भाँडाकुँडा, ओढ्ने-ओछ्याउने सबै किन्नै पर्छ। अहिलेको महँगीमा १० हजारले के आउँछ?”

कोसी कटानबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न बिहीबार कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको टोली श्रीलङ्का टापु पुगेको थियो। टोलीमा प्रदेशका मन्त्री, उपसभामुख, पूर्वमुख्यमन्त्री, सांसद, बेलका र बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि तथा प्राविधिकहरू सहभागी थिए।

स्थानीयले सोचेका थिए— अब आफ्ना दुःख-पीडा मुख्यमन्त्रीलाई प्रत्यक्ष सुनाउन पाइनेछ। तर, उनीहरूको अपेक्षा निराशामा बदलियो।

बिहीबार बिहान करिब १०:३० बजे टापु पुगेका मुख्यमन्त्री कार्की करिब १० मिनेटमै प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर फर्किनुभयाे। स्थानीयले आफ्ना समस्या राख्नै पाएनन्।

“मुख्यमन्त्रीसँग भेट गरेर दुःख पोख्नै पाइएन। गाउँलेहरू भेला हुन नपाउँदै उहाँ निस्किसक्नुभयो। अब हाम्रा समस्या कसलाई राख्ने?” मानिक चन्द्रवंशीले प्रश्न गरे।

दोहोरो जोखिममा श्रीलङ्का टापु
सप्तकोसीले आफ्नो धार परिवर्तन गरेर पूर्वतर्फ बग्न थालेपछि बनेको श्रीलङ्का टापुमा उदयपुर र सुनसरीका विभिन्न क्षेत्रबाट मानिसहरू खेतीपातीका लागि आएर बसेका थिए। उर्वर जमिनले तानेका उनीहरूका लागि अहिले यही जमिन सबैभन्दा ठूलो डर बनेको छ।

यो क्षेत्र दोहोरो जोखिममा छ— हिउँदमा हात्तीको आतङ्क र वर्षायाममा कोसीको बाढी तथा कटान।

स्थानीयहरू वर्षैपिच्छे राहतको लाइनमा उभिन वा पटक-पटक घर सार्न चाहँदैनन्। उनीहरू कोसी कटानको दीर्घकालीन समाधान चाहन्छन्। हिउँदमा तटबन्ध निर्माण, जाली हाल्ने र कटान नियन्त्रणका काम समयमै नहुँदा बर्खामा यो नियति भोग्नुपरेको उनीहरूको गुनासो छ।

उनीहरूले यहाँ घर बनाए, खेती गरे, छोराछोरी हुर्काए र भविष्यका सपना बुने। तर, बर्सेनि उर्लिने कोसीले उनीहरूको जमिनका साथै ती सपना पनि आफूसँगै बगाइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button