तपाईँ सुन्दै हुनुहुन्छः

रसुवाको बाढीका कारण दोलखाका १८ जना सम्पर्क विहीन

दोलखा । बुधवार बिहान रसुवाको त्रिशूली नदीमा आएको बाढीका कारण दोलखाका १८ जना सम्पर्क विहीन रहेको उनीहरूका आफन्तले बताएका छन् । दोलखाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पोखरेलले भने आधिकारिक रुपमा दोलखाका मानिस सम्पर्क विहीन बनेको जानकारी प्राप्त नभएको बताए ।

जिल्ला प्रशासन कार्यालयले सबै पालिकाहरूलाई कोही सम्पर्क विहीन भएको जानकारी आए प्रशासनमा खबर गर्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

रसुवामा हाइड्रोपावर, बैङ्क, सरकारी कार्यालय लगायत विभिन्न क्षेत्रमा कार्यरत तथा गोसाईंकुण्ड भ्रमणमा गएका दोलखाको विभिन्न पालिकाका १८ जना सम्पर्कमा नआएको स्रोतले जनाएको छ । दोलखाका दुई जना भने सम्पर्कमा आएको स्रोतको भनाई छ ।

प्राप्त जानकारी अनुसार दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ३ का कृष्ण श्रेष्ठ, मेलुङ गाउँपालिकाका सञ्जीव भुजेल, रामशरण रसाईली र मैया दहाल, भीमेश्वर नगरपालिका वडा नम्बर– ४ का सुदर्शन चौलागाई र सुविन्द्र नेपाली, बैतेश्वर गाउँपालिका वडा नम्बर– ३ का जगत पाख्रिन, जिरी नगरपालिका वडा नम्बर– ९ का दान बहादुर तामाङ, भीम बहादुर घिसिङ, पेम्बा घिसिङ, गौरीशङ्कर गाउँपालिका वडा नम्बर– २ जुँगुका गोपी नेपाली, सागर नेपाली, कमल खड्का, उत्तर नेपाली र केदार कार्की तथा तामाकोशी गाउँपालिका वडा नम्बर– ६ का दिपेन्द्र बजगाईँ र सुवास फुयाँल  बुधवार साँझसम्म पनि सम्पर्कमा आएका छैनन् ।

गौरीशङ्कर गाउँपालिका वडा नम्बर– १ जुँगुका जनक विरल र पुष्कर विरल भने सम्पर्कमा आएको स्थानीयले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button