नागरिकको जीउ धनको रक्षाका लागि सरकारले सम्पूर्ण सामर्थ्य लगाउने सभापति लामिछानेको विश्वास
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको जीउ धनको रक्षाका लागि सरकारले सम्पूर्ण सामर्थ्य लगाउने विश्वास व्यक्त गर्नुभएको छ ।

सभापति लामिछानेले बैठकमा रास्वपाको संसदीय दलका तर्फबाट विशेष समय लिएर भोटेकोसीमा आएको बाढीको विपत्तिमा सरकार र सबै राजनीतिक दलहरू सँगै रहेको बताउनुभयो ।
सभापति लामिछानेले पार्टीका तर्फबाट आज बिहानैदेखि प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य मन्त्री लगायतसँग निरन्तर छलफल र सूचना आदानप्रदान गरिरहेको र नागरिकको जीउ धनको रक्षाका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न आग्रह गरेको सदनलाई जानकारी गराउनुभयो ।
यसअधि आजको बैठकको सुरुमा सांसदहरुले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार र राहतका लागि सबैलाई साथमा लिएर अगाडि बढ्न सरकारसँग आग्रह गर्नुभएको थियो ।
बैठकको आकस्मिक समयमा सांसदहरुले भोटेकोशी र त्रिशूली नदी किनारका बस्तीहरूमा ठूलो सङ्ख्यामा नागरिकहरू उद्धार र राहतको प्रतीक्षामा रहेको उल्लेख गर्नुहुँदै त्यसका लागि सरकारका सबै संयन्त्र, स्थानीय सरकार र नागरिक समाज एकसाथ परिचालित हुनुपर्ने बताउनुभयो ।
बाढीका कारण विभिन्न जलविद्युत आयोजना तथा भौतिक संरचनाहरूमा क्षति पुगेका कारण नदी किनारका बस्तीहरू सँगको सम्पर्क विच्छेद हुँदा उद्धार र राहत सामग्री पु¥याउने काम थप चुनौतीपूर्ण भएकाले समयमै चुनौतीको पूर्वानुमान गरी प्रभावकारी कदम चाल्न पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै सांसदहरुले भोटेकोशीको मुहानमा रहेको हिमताल फुट्ने क्रम जारी रहेको र पुनः बाढीको सम्भावना रहेको भन्ने सूचना आइरहेको हुनाले चीन सरकारसँग समेत समन्वय गरी सूचनाहरू लिन र पूर्व तयारीका कामहरू गर्न ध्यानाकर्षण गराउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्