राष्ट्रिय सभा बैठक: नेपाल विशेष सेवा विधेयक विधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडौँ। राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा ऐन २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धि विधेयक २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पटाइयोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो ।
आजको बैठकको शून्य समयमा सांसदहरूले नैतिक तथा यौन शिक्षा, महिला सुरक्षा तथा यौनजन्य हिंसा न्यूनीकरणलगायतका विषयमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरूले ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको यौनजन्य अपराध तथा हत्याको घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग पनि गर्नुभयो ।
महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण, साइबर अपराध नियन्त्रण तथा घरेलु हिंसा रोक्न विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन र न्याय सुनिश्चित गर्न थप नीतिगत सुधार आवश्यक रहेकोमा सांसदहरुले जोड दिनुभयो ।
यस्तै सांसदहरूले प्रादेशिक अस्पतालमा चिकित्सकको कमी र लापरबाहीका कारण सुत्केरी महिलाको स्वास्थ्य जोखिममा परेको र बाजुरा लगायतका ग्रामीण जिल्लाहरूमा चिकित्सक तथा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले राजदूतावास विहीन मुलुकहरूमा कूटनीतिक पहल अघि बढाउन समेत सरकारलाई अनुरोध गर्नुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते मङ्गलवार दिउँसो १ः१५ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्