तपाईँ सुन्दै हुनुहुन्छः

वर्षायाममा सडक खन्दा झ्यारी–चोरमेलामा यात्रुलाई सास्ती

मुगु ।नाग्म–गमगढी सडकअन्तर्गत झ्यारी खोला–ताल्चा चोरमेलाखण्डमा वर्षायाममै सडक चौडा गर्ने काम सुरु भएपछि यात्रु तथा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ। निर्माणका क्रममा पटक–पटक सडक अवरुद्ध हुँदा सयौँ यात्रु घण्टौँसम्म बाटोमै अलपत्र पर्ने गरेका छन्।

सडक डिभिजन कार्यालय जुम्ला र निर्माण कम्पनीले हिउँदमा काम नगरी वर्षायाममा सडक खन्ने काम अघि बढाउँदा समस्या भएको स्थानीयको गुनासो छ। छायानाथ रारा नगरपालिका–८ का स्थानीय बालकृष्ण रावलका अनुसार झ्यारी खोला–ताल्चा चोरमेलासम्म सडक चौडा गर्ने जिम्मा पाएको प्रभात उपमा जेभीले वर्षायाममा सडक खन्न थालेपछि पटक–पटक यातायात अवरुद्ध भएको हो।

उहाँका अनुसार साउन महिनामा चारपटक सडक अवरुद्ध भएको थियो। भदौको पहिलो सातामै दुईपटक गरी चार दिन सडक बन्द हुँदा दैनिक आवतजावत गर्ने सयौँ नागरिकले सास्ती भोग्नुपरेको उहाँले बताउनुभयो।

“सडक डिभिजन कार्यालय जुम्ला संवेदनशील नहुँदा अहिले हजारौँ नागरिकले सास्ती खेप्नुपरेको छ,” रावलले भन्नुभयो। सडक अवरोधका कारण रारा आउने पर्यटकसमेत प्रभावित भएको उहाँको भनाइ छ।

छायानाथ रारा नगरपालिका–८, सल्लेरीमा होटल व्यवसाय गर्दै आउनुभएकी शान्ति रोकायाले विगतका वर्षको तुलनामा यस वर्ष रारा आउने आन्तरिक पर्यटक घटेको बताउनुभयो। झ्यारी खोलामा सडक अवरुद्ध हुँदा पर्यटक तथा यात्रुलाई आवतजावतमा समस्या हुने गरेको उहाँले बताउनुभयो।

गाडी चालक नन्दलाल जैसीले निर्माण कम्पनीले सडक खन्ने क्रममा यातायात सञ्चालनलाई ध्यान नदिँदा समस्या हुने गरेको बताउनुभयो। “गाडी निकाल्न घण्टौँ कुर्नुपर्ने अवस्था छ। सडक निर्माणको काम माघ–फागुनमै गरिएको भए नागरिकले यस्तो दुःख पाउने थिएनन्,” उहाँले भन्नुभयो।

सडक डिभिजन कार्यालय जुम्लाका साइड इन्जिनियर प्रदीप चौधरीका अनुसार प्रभात उपमा जेभीसँग २०८२ पुस २२ गतेदेखि २०८३ असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८३ पुससम्म काम सक्ने गरी म्याद थप गरिएको उहाँले जानकारी दिनुभयो।

निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न कार्यालयबाट पटक–पटक पत्राचार गरिएको उहाँले बताउनुभयो। निर्माण व्यवसायीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलगायतका कारण देखाउँदै असारदेखि मात्र काम सुरु गरेको चौधरीले बताउनुभयो।

उक्त सडकखण्डमा डबल कटिङ, ग्याबिन वाल, सिमेन्टेट वाल तथा २७ मिटर ग्राभेल गर्ने काम रहेको छ। योजनाको कुल लागत एक करोड ८२ लाख रुपैयाँ रहेको र हालसम्म करिब ३५ प्रतिशत भौतिक प्रगति भएको चौधरीले जानकारी दिनुभयो।

स्थानीयवासीले सडक निर्माणको काम वर्षायाममा भन्दा हिउँदमा सञ्चालन गर्नुपर्ने र निर्माणका क्रममा यातायात सञ्चालनलाई समेत सहज बनाउने व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button