चरिकोटमा मिनि किवीको नर्सरी
दोलखा । नेपालमै पहिलो पटक व्यवसायीक किवी खेती सुरु गरेका दोलखा सदरमुकाम चरिकोटका श्याम खड्काले मिनि किवीको नर्सरी पनि सुरु गरेका छन् । मिनि किवीको बिरुवा उत्पादन पनि नेपालमा पहिलो पटक आफैले सुरु गरेको खड्काको दाबी छ ।

लामोसाँगु– जिरी सडक निर्माणको क्रममा इन्जिनियरको काम गर्न २०४३ सालतिर दोलखा आएका स्विस नागरिक जेएफ मेस्सीका बुबा– आमा उनलाई भेट्न चरिकोट आउँदा उनी बसेको चरिकोटस्थित श्याम खड्काको घरमा २०४४ सालतिर किवी फल रोपिदिएका थिए । सुरुमा त्यस फलको नाम थाहा नपाएका खड्कालाई स्विस सहयोगको बन परियोजनामा काम गर्ने खगेन्द्र सिग्देलले किवी फल भनि बताएपछि २०५८÷०५९ सालतिर खड्काले यसको व्यवसायीक उत्पादन सुरु गरेका हुन् ।
मेस्सीले रोपेको बिरुवामा फलेको ५२ किलो किवी फल पहिलो पटक काठमाडौँको कालीमाटीमा लगेर १० हजारमा बिक्री गरेको खड्काले बताए । त्यसपछि व्यवसायीक उत्पादन सुरु गरिएको किवी फलको खेती अहिले देशको विभिन्न पहाडी तथा हिमाली जिल्लामा समेत विस्तार भएको छ ।

२५/२६ वर्षको अवधिमा देशको अधिकांश जिल्लामा विस्तार भैसकेको किवी विभिन्न जातको हुने खड्का बताउँछन् । मोन्टी, एलिसन, हेवार्ड, ब्रोनो, रेड, ग्रीन, गोल्डेन, मिनि लगायत जातको किवी नेपालमा उत्पादन हुने उनको भनाई छ । त्यसमध्ये मिनि किवी भने आफूसँग मात्र रहेको खड्काले बताए ।
केही वर्षअघि छोरा स्वीटजरल्याण्ड गएको बेला मिनि किवीको बिरुवा ल्याएर रोपिएको र विगत तीन वर्षदेखि यसले फल दिन लागेको खड्काले बताए । आफूसँग अहिले मिनि किवीको पाँच बोट मात्र रहेकोले यसको फल बिक्री– वितरण भने नगरिएको उनले बताए । यो पाहुना आउँदा खुवाउने र घर– परिवारका मानिसले खाने गरेको खड्काले बताए ।
यो वर्षबाट मिनि किवीको नर्सरी सुरु गरेको उनले बताए । एउटा बिरुवाको तीन सय ५० रुपैयाँसम्ममा बिक्री गर्ने लक्ष्य रहेको उनले बताए ।
मिनि किवी अन्य जातको किवी भन्दा निक्कै सानो हुने र यो बोक्रा सहितै खान सकिने खड्काको भनाई छ । साउन १५ देखी भदौ १५ सम्ममा यो फल टिपिसक्नुपर्ने उनले बताए । मिनि किवी निकै स्वादिलो हुने र माग धेरै भएकोले आफूले यसको नर्सरी सुरु गरेको खड्काको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्