प्रतिनिधिसभा बैठक : गरिमा हत्या लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बारा जितपुर सिमराकी ३ वर्षिया बालिका गरिमा चौधरीको जघन्य अपराधपछि भएको हत्याका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै दोषीमाथि कडा कारवाहीको माग गर्नुभएको छ ।

सांसदहरुले जघन्य अपराधका घटनालाई जबरजस्ती वा दबाबपूर्ण रूपमा मिलापत्र गराउने नभई विद्यमान कानुनको संशोधन गरेर भएपनि हदैसम्मको कानुनी सजाय सुनिश्चित गर्न माग गर्नुभयो ।
यस्तै सप्तरीमा २ वर्षकी बालिकाको परिवारकै सदस्यबाट हत्या भएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै दिनहुँजसो भइरहेका यस्ता घटनाले छोरीहरू घर, विद्यालय र समाजमै असुरक्षित रहेकोप्रति पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले काठमाडौँको शंखमुलमा रहेको एक होस्टमा बस्दै आएका दाङका २२ वर्षीय वसन्त कलाथोकीको मृत्यु भएको घटनाका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिनको माग गर्नुभयो ।
सांसदहरुले होस्टेलमा यस्ता घटना कसरी र किन भइरहेका छन् भन्ने विषयमा सरकारले प्राथमिकताका साथ अध्ययन गरी त्यसको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसदहरुले देशका विभिन्न स्थानमा सार्वजनिक यातायातको गैर जिम्मेवारीका कारण मानिसहरूको ज्यान जाने गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यस्ता सबै खाले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही र पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
संसदहरुले देशका विभिन्न स्थानमा बाढी पहिरोका कारण कयौँ मानिसहरू घरबार विहीन भएको, कतिपय परिवार अझैपनि जोखिमयुक्त अवस्थामा रहेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जाखिमयूक्त बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने र पीडितलाई उचित क्षतिपूर्ति तथा राहतको व्यवस्था गर्न माग गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्