तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा आत्महत्या गर्नेको संख्या बढ्दो 

रौतहट । रौतहटमा आत्महत्याको अवस्था चिन्ताजनक देखिएको छ । 

जिल्ला प्रहरी कार्यालयको आर्थिक वर्ष २०८२÷८३ को तथ्यांकअनुसार १ वर्षमा १६३ जनाले आत्महत्या गरेका छन् । तीमध्ये १४६ जनाले झुन्डिएर र १७ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा ४७ पुरुष, ५३ महिला, सात बालक र ५६ बालिका छन् । उमेर समूहमा १६ वर्षमुनिका ३२, १६–२५ वर्षका ६९, २६–३५ वर्षका २२, ३६–४५ वर्षका २०, ४६–६० वर्षका चार र ६० वर्षमाथिका पाँच जना छन् । विशेषगरी १६ वर्षमुनिका ३२ बालबालिकाले आत्महत्या गरेको तथ्याङ्क चिन्ताजनक छ । 

प्रहरीका अनुसार अधिकांश विद्यार्थी रहेका छन् । पढाइको दबाब, अभिभावकको अत्यधिक अपेक्षा, पारिवारिक कलह, साथीभाइको सम्बन्ध, बुलिङ, सामाजिक दबाब तथा सामाजिक सञ्जालको प्रभावजस्ता कारणले बालबालिकामा मानसिक तनाव बढ्न सक्ने भए पनि प्रत्येक घटनाको कारण फरक हुन सक्ने प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी बसन्त गौतमले बालबालिकाको व्यवहारमा आउने अचानक परिवर्तनलाई गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो । एक्लै बस्ने, निराश देखिने, पढाइ तथा रुचिका गतिविधिमा कमी आउने वा परिवारबाट टाढिँदै जानेजस्ता सङ्केत देखिए अभिभावक र शिक्षकले संवाद तथा आवश्यक मनोसामाजिक परामर्शमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । 

यसैबीच, शनिबार देवाही गोनाही नगरपालिका–५ नारायण चोकमा करिब ३५ वर्षीय सुमित पटेल आफ्नै मोटरसाइकल मर्मत पसलमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । बारा कलैया–१ देवकोटा टोलका पटेलले करिब चार वर्षदेखि नारायण चोकमा पसल सञ्चालन गर्दै आएका थिए । 

इलाका प्रहरी कार्यालयका इन्चार्ज तेजप्रसाद भट्टराईका अनुसार राति करिब १२ बजे उनी झुन्डिएको अवस्थामा फेला परेका हुन्। प्रहरीले घटनाको मुचुल्का तयार गरी अनुसन्धान अघि बढाएको जनाएको छ । 

रौतहटमा आत्महत्याको बढ्दो तथ्याङ्कले परिवार, विद्यालय, स्वास्थ्य संस्था, स्थानीय तह र समुदायबीच समन्वय गरी मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने देखाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button