जङ्गली जनावरले बाली सखाप पार्न थालेपछि किसान चिन्तित
बैतडी । बैतडीमा जङ्गली जनावरले मकै बालीमा क्षति पुर्याउन थालेपछि किसान चिन्तित बनेका छन्। जिल्लाका विभिन्न क्षेत्रमा बाँदर, बँदेल र दुम्सीले मकै बाली नष्ट गर्न थालेपछि किसानलाई बाली जोगाउनै समस्या भएको हो।

सिगास गाउँपालिका–३ का स्थानीय पदमराज अवस्थीका अनुसार दिउँसो बाँदर र राति दुम्सीले मकै बालीमा क्षति पुर्याउने गरेका छन्। बाली जोगाउन रातदिन खेतमा निगरानी गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।
“रातदिन खेतमै जाग्राम बस्दा पनि बाली जोगाउन सकिरहेका छैनौँ,” अवस्थीले भन्नुभयो, “जङ्गली जनावरले क्षति पुर्याउँदा उत्पादन घट्ने चिन्ता छ।” पुर्चौडी नगरपालिका–७ का किसान जनक ऐर र सिगास–९ का जनक बोहराले पनि मेहनत गरेर लगाएको मकै जोगाउन रातभर खेतमा बस्नुपर्ने बाध्यता रहेको बताउनुभयो।
कृषि बिमाप्रति किसानको आकर्षण न्यून
किसानलाई बाली क्षतिबाट राहत दिन कृषि बीमा महत्वपूर्ण भए पनि बैतडीमा यसको आकर्षण न्यून देखिएको छ। कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीका अनुसार बाली बीमा निःशुल्क गर्ने व्यवस्था भए पनि किसानले बीमा गराउने गरेका छैनन्।
गत आर्थिक वर्षमा बैतडीमा एउटा पनि बाली बीमा नभएको केन्द्रले जनाएको छ। पशुपन्छीतर्फ भने ६ सय बीमा गरिएको छ। बीमा गरे विभिन्न कारणबाट हुने बाली क्षतिमा किसानलाई राहत पुग्ने जोशीले बताउनुभयो।
बैतडीमा करिब १२ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ। जङ्गली जनावरसँगै हावाहुरी, रोग तथा किराको सङ्क्रमणका कारण हरेक वर्ष मकै उत्पादनमा असर पर्ने गरेको छ।








प्रतिक्रिया राख्नुहोस्