तपाईँ सुन्दै हुनुहुन्छः

महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध दलभन्दा माथि उठेर एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध दल र विचारभन्दा माथि उठेर साझा नागरिक पहलमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक अपील जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले पछिल्लो समय महिला तथा बालबालिकामाथि भइरहेका बलात्कार, हत्या तथा अन्य हिंसाका घटनाले आफू अत्यन्त दुःखी र चिन्तित भएको बताउनुभएको हो।

हालै बारामा तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको बलात्कारपछि हत्याको घटनाले सबैलाई स्तब्ध बनाएको उल्लेख गर्दै उहाँले घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ।

महिला तथा बालबालिकाको सुरक्षा र सम्मान कुनै राजनीतिक दल वा विचारधारासँग मात्र सम्बन्धित विषय नभई मानवीय मर्यादा, सामाजिक न्याय र राज्यको आधारभूत दायित्वसँग जोडिएको राष्ट्रिय प्रश्न भएको उहाँको भनाइ छ।

यस्ता जघन्य अपराधविरुद्ध राज्यका सम्बन्धित निकाय, राजनीतिक दल, महिला तथा बाल अधिकारसँग सम्बन्धित संघ–संस्था, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिक एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ।

घटनापछि दोषीलाई सजाय दिनु मात्र पर्याप्त नहुने भन्दै भण्डारीले बाल सुरक्षा प्रणाली सुदृढीकरण, प्रभावकारी अनुसन्धान तथा न्यायिक प्रक्रिया, पीडित र परिवारको संरक्षण तथा अपराधीलाई कुनै पनि प्रकारको राजनीतिक वा सामाजिक संरक्षण हुन नदिने राष्ट्रिय प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको छ।

उहाँले सबै राजनीतिक दल, तिनका भ्रातृ तथा भगिनी संगठन, महिला तथा बाल अधिकारकर्मी, नागरिक समाज, सञ्चारमाध्यम र सचेत नागरिकलाई दल तथा विचारभन्दा माथि उठेर महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध साझा नागरिक अभियानमा सहभागी हुन आह्वान गर्नुभएको छ।

यस्तो अभियानमा आफ्नो साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै भण्डारीले अब मौन बस्ने नभई बालबालिका तथा महिलाको सुरक्षा, सम्मान र मर्यादाका लागि एकजुट भएर आवाज उठाउने बेला आएको बताउनुभएको छ।

‘कुनै पनि बालिका वा महिलाले फेरि यस्तो अमानवीय पीडा भोग्न नपरोस्’ भन्दै उहाँले राज्य र समाज दुवैले गम्भीर आत्मसमीक्षा गरी प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button