पर्यटन प्रवर्द्धन गर्न पुम्दी–भुम्दी पर्वतीय खुला दौडको तयारी स्वरूप हाइकिङ
पोखरा । तेस्रो संस्करणको पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिताको पूर्वतयारी स्वरूप शनिबार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा शनिबार हाइकिङ कार्यक्रम आयोजना गरिएको छ ।

पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा भएको करिब ७ किलोमिटर हाइकिङ पोखरा–१७ स्थित माछापुच्छ्रे बिम्ब पार्क (ड्यामसाइड) बाट सुरु भई रानीवन, पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति हुँदै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ‘ड्रिम सिटी’सम्म पुगेको थियो ।
उक्त खेल सहित गाउँ पर्यटन तथा पद मार्गको समेत प्रवर्द्धन गर्न उक्त कार्यक्रम आयोजना गरिएको केन्द्रका उपाध्यक्ष असफल गौतमले बताउनुभयो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष हिमलाल बरालले पुम्दी–भुम्दी क्षेत्रको पर्यटन विकास तथा पर्वतीय दौड प्रतियोगितालाई वडाले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टङ्कप्रसाद ढकालले पर्वतीय दौड प्रतियोगितालाई मन्त्रालयले विगतदेखि नै सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम संयोजक तथा पोखरा प्रवद्र्धन केन्द्रका अध्यक्ष दिननाथ बरालले असोज १० गते शनिबार आयोजना हुने तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिताको तयारी स्वरूप हाइकिङ आयोजना गरिएको बताउनुभयो ।
गत वर्षको प्रतियोगितामा सात देशका १६७ जना धावक सहभागी भएका थिए । यस वर्ष पनि स्वदेश तथा विदेशका धावकलाई सहभागी गराउने तयारी भइरहेको पोखरा प्रवद्र्धन केन्द्रका सचिव सागर सुनारले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्