ढुम गाउँमाथि पहिरो, रातभर जाग्राम बस्न बाध्य ढुमबासी
मुगु ।मुगुको छायानाथ रारा नगरपालिका–५ ढुम गाउँका बासिन्दा गाउँमाथिबाट पहिरो र ढुङ्गा खस्न थालेपछि रातभर जाग्राम बस्न बाध्य भएका छन् । करिब १५० घरधुरी रहेको गाउँमाथि तथा आसपासबाट पहिरो बग्ने क्रम बढेपछि स्थानीयमा त्रास बढेको हो ।

गाउँमाथिबाट पटक–पटक ढुङ्गा खस्ने र सानातिना पहिरो जाने गरेकाले विशेषगरी रातको समयमा स्थानीय बुढापाका जाग्राम बस्ने गरेका छन् । बालबालिका र महिलासमेत घरभित्र सुरक्षित रूपमा सुत्न सक्ने अवस्था नरहेको स्थानीय सक्क बुढाले बताउनुभयो ।
उहाँका अनुसार गाउँमाथिबाट पटक–पटक ढुङ्गा खस्ने र पहिरो जाने गरेकाले कतिबेला के हुने हो भन्ने चिन्ताले स्थानीयलाई सताउने गरेको छ । वर्षा भइरहेका बेला गाउँमाथिको क्षेत्रमा पहिरो जाने जोखिम झनै बढ्ने गरेको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले प्राकृतिक विपत्ति जुनसुकै बेला आउन सक्ने भएकाले ढुम गाउँका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताउनुभयो ।
उहाँका अनुसार २०७९ सालदेखि गाउँको बीच भाग, माथिल्लो क्षेत्र तथा आसपासमा सानातिना पहिरो जाने क्रम बढ्दै गएको छ । पछिल्लो समय वर्षाका कारण पहिरोको जोखिम थप बढ्न सक्ने भएकाले स्थानीयलाई सचेत रहन आग्रह गरिएको उहाँले बताउनुभयो ।
गाउँमाथि पहिरोको जोखिम बढ्दै गए पनि हालसम्म जोखिम न्यूनीकरणका लागि दीर्घकालीन उपाय अपनाइएको छैन । त्यसैले स्थानीयले सुरक्षित स्थानको व्यवस्था गर्न तथा पहिरो नियन्त्रणका लागि तत्काल पहल गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्