तपाईँ सुन्दै हुनुहुन्छः

बाल विकास सहजकर्ता, विद्यालयका कर्मचारी र सहयोगीको पारिश्रमिक बढाइने

काठमाडौँ । सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले विद्यालय कर्मचारी, सहयोगी र बाल विकास सहजकर्तालाई संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक ५ हजार रुपैयाँका दरले वृद्धि गर्ने निर्णय गरेको हो । 

बैठकले आधारभूत तह र माध्यमिक तहमा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब निम्न माध्यमिक तह तृतीय श्रेणी र माध्यमिक तह तृतीय श्रेणीको तलब बराबर कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । 

सरकार प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड नेपाली रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने पनि निर्णय भएको जानकारी गराउनुभयो ।

यस्तै मन्त्री पोखरेलले भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको बताउनुभयो ।

यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने, नेपाल सरकार र साउदी अरेबियाबिच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । 

यस्तै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घको ८१ औँ महासभामा सहभागी हुन परराष्ट्र मन्त्रीको नेतृत्वको नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने, सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने र बागमती प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने लगायतका निर्णय भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button