नरैनापुरका सबै माध्यमिक विद्यालय डिजिटल प्रणालीमा आबद्ध
बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार तथा विद्यालयको नियमित अनुगमनका लागि पालिकाभित्रका सबै माध्यमिक विद्यालयलाई डिजिटल प्रणालीमा आबद्ध गरेको छ।
गाउँपालिकाले सामुदायिक तथा धार्मिक विद्यालयमा शिक्षकको अनलाइन हाजिरी, सीसीटीभी निगरानी तथा शैक्षिक व्यवस्थापन सूचना प्रणाली—ईएमआईएस लागू गरेको हो।
गाउँपालिकाका अनुसार डिजिटल प्रणालीले शिक्षक तथा कर्मचारीको उपस्थिति अभिलेख व्यवस्थित गर्नुका साथै विद्यालयका शैक्षिक तथा प्रशासनिक गतिविधिको अनुगमनमा सहजता हुनेछ।
यसैक्रममा गाउँपालिकाले विद्यालयका शिक्षक तथा कर्मचारीलाई ईएमआईएसका पूर्ण सुविधाको प्रयोगसम्बन्धी तालिमसमेत दिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधिलाई व्यवस्थित गर्ने अभियान अघि बढाइएको बताउनुभएको छ।
गाउँपालिकाले आफ्नो प्रशासनिक कामकाजलाई समेत कागजविहीन प्रणालीतर्फ अघि बढाएको जनाएको छ। पहिलो चरणमा सूचना प्रविधि, शिक्षा र प्रशासन शाखामा डिजिटल कार्यप्रणाली लागू गरिएको छ।
यसैगरी, आन्तरिक राजस्व कार्यालय नेपालगञ्जसँगको समझदारीपछि गाउँपालिकाले स्थायी लेखा नम्बर—प्यान र करचुक्ता प्रमाणपत्रलगायतका करदाता सेवा स्थानीय तहमै उपलब्ध गराउन थालेको छ।
गाउँपालिकाले डिजिटल प्रणालीलाई क्रमशः समग्र सेवा प्रवाहमा विस्तार गर्ने जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्