तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस बैठकबाट सभापति थापाको राजनीतिक प्रतिवेदन पारित

'नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए'

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले विभिन्न निर्णय सार्वजनिक गरेको छ ।

बैठकले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, उपसभापतिले पेश गरेको समसामयिक विषय तथा महामन्त्रीले पेश गरेको पार्टी सञ्चालन र विधानसम्बन्धी प्रस्तावमाथि निर्णय गरेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

सभापति थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा आगामी चार वर्षका लागि कांग्रेसको कार्यदिशा, सरकार, देशको समग्र अवस्था तथा अन्तर्राष्ट्रिय सम्बन्ध र दृष्टिकोणसमेत समेटिएको प्रवक्ता चालिसेले बताउनुभयो ।

लोकतान्त्रिक संस्थालाई सबल बनाउनु आगामी दिनको प्रमुख चुनौती रहेको उल्लेख गर्दै कांग्रेसको मूल सिद्धान्त राष्ट्रियता, लोकतन्त्र र समाजवाद नै भएको उहाँले बताउनुभयो 

काँग्रेसले आगामी निर्वाचनमा उम्मेदवार छनोटका लागि नेतृत्व विकास र क्षमता अभिवृद्धिलाई प्राथमिकता दिने नीति अघि सारेको र नेतृत्व एकेडेमीबाट प्रशिक्षण तथा अध्ययन पूरा गरेका व्यक्तिलाई उम्मेदवार बनाउने अवधारणा अघि सारिएको प्रवक्ता चालिसेले बताउनुभयो ।

यसबाट सक्षम नेतृत्व निर्माण तथा सुशासन प्रवद्र्धनमा सहयोग पुग्ने कांग्रेसको अपेक्षा छ ।

बैठकले विधान संशोधनसम्बन्धी प्रस्तावमा समेत सुझावसहितको प्रारम्भिक खाका अघि बढाएको छ । 

महामन्त्रीले पेश गरेको प्रस्तावमा पार्टीलाई कसरी सञ्चालन गर्ने, निर्णय प्रक्रिया कसरी अघि बढाउने तथा पार्टीका विभिन्न तहमा जिम्मेवारी र संरचना कसरी व्यवस्थित गर्ने भन्ने विषय समेटिएको प्रवक्ता चालिसेले जानकारी दिनुभयो ।

नयाँ विधानको प्रारम्भिक खाकामा वडा, क्षेत्र र जिल्ला तहमा थप पद सिर्जना गर्ने प्रस्तावसमेत गरिएको छ । तर, यो अन्तिम निर्णय नभएको कांग्रेस प्रवक्ता चालिसेले स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार अहिले सार्वजनिक गरिएको संरचना प्रारम्भिक खाका मात्रै भएको र १५औँ महाधिवेशनको बन्दसत्रमा प्रस्ताव प्रस्तुत भएर प्रतिनिधिहरूले पारित गरेपछि मात्रै त्यसले अन्तिम रूप पाउनेछ ।

गत पुषमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समितिको यो अन्तिम बैठक हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button