विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ: प्रधानमन्त्री शाह
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै तह (संघ, प्रदेश र स्थानीय) सरकारबीचको आपसी समन्वयमा गत भदौ १० गतेयताका विपद् व्यवस्थापनका कार्यहरू निरन्तर भइरहेको बताउनुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले सरकार कुनै पनि सम्झौता नगरी विपद् व्यवस्थापनमा जुटिरहेको स्पष्ट पार्नुभयो।
गण्डकी, बाग्मती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको समेत सहभागिता रहेको उक्त बैठकमा प्रधानमन्त्री शाहले भन्नुभयो, “हामीसँग उपलब्ध स्रोत, साधन र जनशक्तिलाई अधिकतम परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सम्पन्न गर्दैछौँ, त्यसैले यस विषयमा ढुक्क हुन आग्रह गर्दछु।”
प्रधानमन्त्री शाहले भोटेकोशी, त्रिशूली, गण्डकीलगायत अन्य क्षेत्रमा बाढीपहिरोले पुर्याएको क्षतिको विस्तृत अध्ययनसहित पुनर्निर्माण र व्यवस्थापनको काम भइरहेको जानकारी दिनुभयो।
साथै, विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुका साथै हिमपहिरोको जोखिम घटाउन सरकारले आवश्यक तयारी र काम गरिरहेको उहाँको भनाइ थियो।
आफ्नो ज्यानसमेत जोखिममा राखेर उद्धार तथा व्यवस्थापनमा खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक र राजनीतिक दलका प्रतिनिधिहरूप्रति प्रधानमन्त्री शाहले विशेष कृतज्ञता व्यक्त गर्नुभयो।








प्रतिक्रिया राख्नुहोस्