तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस महाधिवेशनको बन्द सत्र शुरु

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्द सत्र सुरु भएको छ । गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले बन्द सत्रमा पेश गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल सुरु भएको हो । 

बन्दसत्रका लागि हिमाल हल, पहाड हल र तराई–मधेस हल गरी तीन क्लस्टरमा विभाजन गरेर छलफल सुरु भएको छ । प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिहरूलाई सम्बन्धित हलमा विभाजन गरिएको छ ।

हिमाल हलमा कोशी प्रदेशका १ हजार १ सय १७, कर्णाली प्रदेशका २ सय ९९ र गण्डकी प्रदेशका ७ सय १५ गरी २ हजार ३ सय ३१ प्रतिनिधि सहभागी छन् । यस्तै, पहाड हलमा बागमती प्रदेशका १ हजार २ सय १७ र लुम्बिनी प्रदेशका १ हजार ९ गरी २ हजार २ सय २६ प्रतिनिधि सहभागी छन् ।

तराई–मधेस हलमा मधेश प्रदेशका १ हजार २ सय ५६, सुदूरपश्चिम प्रदेशका ६ सय ५०, जनसम्पर्क समितिका २ सय ४५ र भ्रातृ सङ्गठनका २ सय २५ प्रतिनिधि सहभागी छन् । बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्रीले पेश गरेको विधान तथा पार्टी सञ्चालनसम्बन्धी प्रस्ताव, उपसभापतिले पेश गरेको समसामयिक प्रस्तावलगायत विषयमा छलफल हुने काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button