तपाईँ सुन्दै हुनुहुन्छः

मुगुका महिलामा आङ खस्ने समस्या बढ्दो, पीडा लुकाएर बस्छन् महिलाहरू

मुगु । मुगुका महिलामा आङ खस्ने समस्या बढ्दै गएको छ। पोषणयुक्त खानाको कमी, कम उमेरमै गर्भधारण र सुत्केरीपछि पर्याप्त आराम नपाउने अवस्थाका कारण महिलामा पाठेघरसम्बन्धी समस्या बढ्दै गएको हो। तर ग्रामीण क्षेत्रका धेरै महिलाले समस्या लुकाउने र स्वास्थ्य संस्थामा उपचारका लागि नजाने गरेका कारण पीडितको वास्तविक संख्या अझै बढी हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन्।

जिल्ला अस्पताल मुगुको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२र८३ मा जिल्लाका चारवटै स्थानीय तह र जिल्ला अस्पतालमा पाठेघरसम्बन्धी परीक्षण तथा उपचार गराएका महिलामध्ये एक हजार ६७ जनाले रिङ प्रेसरीमार्फत उपचार सेवा लिएका छन्।

जिल्ला अस्पताल मुगुकी नर्सिङ सहायक मनीषा लामिछानेका अनुसार छायानाथ रारा नगरपालिका, खत्याड, सोरु र मुगुम कार्मारोङ गाउँपालिकासहित जिल्ला अस्पतालमा परीक्षण गरिएका महिलामध्ये २७७ जनामा पाठेघरसम्बन्धी समस्या देखिएको छ।

समस्या देखिएका महिलामध्ये १० देखि १९ वर्ष उमेर समूहका १४ जना, २० देखि २९ वर्षका ९४ जना, ३० देखि ३९ वर्षका ८४ जना, ४० देखि ६७ वर्षका ७६ जना र ७० वर्षभन्दा माथिका नौ जना छन्। सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका महिलामा समस्या देखिएको लामिछानेले बताउनुभयो।

ग्रामीण क्षेत्रका महिलाले लाज, सामाजिक डर तथा घरायसी कामको चापका कारण आफ्नो समस्या खुलेर राख्ने नगरेकाले आङ खस्ने समस्याबाट पीडित महिलाको संख्या तथ्याङ्कमा आएभन्दा धेरै हुनसक्ने उहाँको भनाइ छ।

छायानाथ रारा नगरपालिका–६ की धनदेवी ऐडी पनि आङ खस्ने समस्याबाट पीडित हुनुहुन्छ। सुत्केरी अवस्थामा पर्याप्त पोषणयुक्त खाना र आराम गर्न नपाउँदा आफूमा पाठेघरसम्बन्धी समस्या देखिएको उहाँले बताउनुभयो।

“पाठेघरको शल्यक्रिया गर्दा घरको काम गर्न गाह्रो हुने भएकाले रिङ प्रेसरीको माध्यमबाट उपचार गराउँदै आएकी छु,” उहाँले भन्नुभयो।

जिल्ला अस्पताल मुगुका कार्यालय प्रमुख डा। निर्मल शिवाकोटीका अनुसार किशोरी अवस्थामै आमा बन्ने, पटक पटक गर्भधारण गर्ने तथा सुत्केरी भएको केही दिनमै खेतबारीको काममा खटिनुपर्ने अवस्थाले महिलामा आङ खस्ने समस्या निम्त्याउने गरेको छ।

पाठेघरसम्बन्धी समस्या भएका महिलालाई जिल्ला अस्पतालले रिङ प्रेसरीमार्फत उपचार सेवा दिँदै आएको उहाँले बताउनुभयो। रिङ प्रेसरी प्रयोग गरेका महिलाले प्रत्येक तीन महिनामा स्वास्थ्य संस्थामा आएर रिङ निकालेर सफा गरी पुनः राख्नुपर्ने उहाँको भनाइ छ।

छायानाथ रारा नगरपालिका–८ स्थित पिना स्वास्थ्य चौकीका प्रमुख पदम सेजुवालले ग्रामीण क्षेत्रका महिलालाई आङ खस्ने समस्या, यसको कारण, रोकथाम र उपचारबारे नियमित रूपमा सचेत गराउन आवश्यक रहेको बताउनुभयो।

स्वास्थ्यकर्मीका अनुसार किशोरी अवस्थामा हुने विवाह तथा गर्भधारण न्यूनीकरण गर्नुका साथै गर्भवती र सुत्केरी महिलालाई पर्याप्त पोषणयुक्त खाना, आराम र समयमै स्वास्थ्य परीक्षणको व्यवस्था गर्न आवश्यक छ। समस्या लुकाएर पीडा सहनुभन्दा समयमै स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनु आङ खस्ने समस्या न्यूनीकरणको महत्वपूर्ण उपाय हुने स्वास्थ्यकर्मीको भनाइ छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button