डिडिसीले भदौ १ गतेसम्म ६० करोड भुक्तानी गरिसकेको छ : मन्त्री चौधरी
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थानले २०८३ बैशाख २० गतेदेखि भदौ १ गतेसम्म ६० करोड रुपैयाँ बराबरको रकम किसानलाई भुक्तानी गरिसकेको जानकारी गराउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा आज भएको प्रश्नोत्तर कार्यक्रममा मन्त्री चौधरीले संस्थानको अनावश्यक खर्च कटौती, बजारमा उठ्न बाँकी रहेको रकमलाई ताकेता र संस्थानमा रहेको मौज्दात दुग्ध तथा दुग्धजन्य पदार्थको बजारीकरणमार्फत प्राप्त रकमबाट नियमित रुपमा किसानलाई भुक्तानी गरिरहेको बताउनुभयो ।
मन्त्री चौधरीले आठ महिनादेखि बाँकी रहेको भुक्तानीलाई कुनै ठाउँमा दुई महिना र कुनै ठाउँमा तीन महिनामा पुर्याइसकिएको बताउँदै भदौको अन्तिम हप्तासम्ममा भुक्तानीको अवधि २५ दिनभित्र ल्याउने गरी संस्थानले आफ्नो काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँले गएको तीन महिनादेखि संस्थानले आफ्नो सम्पूर्ण ध्यान किसानको भुक्तानीमा केन्द्रित गरेको र भुक्तानीको समयावधि घटाउँदै लगिएको बताउनुभयो ।
मन्त्री चौधरीले पछिल्ला दुई आर्थिक वर्षमा संस्थानले साबिकको भन्दा बढी दुग्ध सङ्कलन गर्नुपरेको अवस्थामा बिक्री नभएको दुधबाट दूध पाउडर, नौनी बनाएको बताउँदै हाल संस्थानमा एक सय ५० मेट्रिक टन दूध पाउडर र एकसय ३० मेट्रिकटन नौनी गरी २४ करोड रुपैयाँ बराबरको मौज्दात रहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्