तपाईँ सुन्दै हुनुहुन्छः

छोराको स्मरणमा लिखित शोक काव्य ‘सशांक’ लोकार्पित

काठमाडौँ । लेखिका राधादेवी पाण्डेद्वारा लिखित शोक काव्य ‘सशांक’ लोकार्पित भएको छ । 

आज यहाँ आयोजित कार्यक्रममा समाजसेवी एवं साहित्यकारले पुत्रको सम्झनामा आमाद्वारा लिखित ‘शोक काव्य’ काव्य सार्वजनिक गर्नुभएको हो ।

युवा अवस्थामै पुत्रको असामयिक निधनबाट व्याकुल आमाले लेखेको शोक काव्य पहिलो भएको साहित्यकार डा सत्यराज थपलियाले बताउनुभयो । कार्यक्रममा साहित्यकार डा दामोदर पुडासैनीले काव्यमा आमा एवं दिदीका अनुभूति रहेका उल्लेख गर्दै साहित्य क्षेत्रमा प्रकाशित यस काव्य प्रेरणाको स्रोत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कृतिमा आमाको सामर्थ्य लेखिएको छ, शोक काव्य लेख्नसक्ने आमालाई सम्मान छ ।”

साहित्यकार डा रामचन्द्र अधिकारीले प्रकाशित कृति एक अमर कृतिका रूपमा साहित्य जगतमा रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आमाको मातृत्व भाव काव्यमा झल्किन्छ, काव्यमा जीवन दर्शन पाइन्छ, यो सम्झनाको सङ्गालो हो ।”

साहित्यकार डा शैलेन्दु प्रकाश नेपालले काव्यमार्फत आमाका आँसु अक्षरमा प्रवाहित भएको आफूले अनुभव गरेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “अक्षरमा प्रवाहित भएको आँसुका धाराहरू अमर रहनेछन् । यो कृतिले नेपाली साहित्य ठूलो योगदान पुर्‍याउने छ ।”

आफ्नो स्वर्गीय भाइको सम्झनामा आमाले तयार पार्नुभएको काव्यबारे दिदी मन्दिरा पाण्डेले सर्जक हुनु र आमा भएर सर्जक हुनु झनै चुनौतीको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कविताका श्लोकहरू सिर्जना र कल्पना मात्र नभई हृदयबाट लेखिएका भावना हुन् । यसले संसारलाई चेतना प्रवाह गर्नेछ ।”

कार्यक्रममा समाजसेवी बाबुकाजी पाठकले राधादेवीद्वा लिखित कृति समाज र साहित्य जगतका लागि अमर र महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । शोक काव्यका मुख्य पात्र सशांककी आमा राधादेवीले गर्भावस्थादेखि बाँचुन्जेलसम्म आफ्नो पुत्र एक असल साथी रहेको स्मरण गर्दै काव्यमार्फत सबैका लागि साझा गर्न चाहेको प्रष्ट्याउनुभयो ।

प्रकाशित कृतिमा उहाँले १०३ श्लोकमार्फत छोरा सशांकको स्मरण गर्नुभएको छ । पिता शम्भुप्रसाद पाण्डे, दिदीहरू मन्दिरा, मनिला र मनसा पाण्डेले पुस्तक प्रकाशनमा ल्याउनुभएको हो । विसं २०५३ मा जन्मिएका सशांकको मृत्यु २६ वर्षको उमेरमा मृत्यु भएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button