मानक उपचार प्रोटोकललाई स्वास्थ्य बीमासँग जोडेर उपचार प्रणाली व्यवस्थित गर्ने तयारी

काठमाडौं । देशको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र सुलभ बनाउने विषयमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बृहत् छलफल भएको छ।
प्रधानमन्त्री बालेंद्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा आधारभूत स्वास्थ्य सेवा तथा विभिन्न रोगको उपचारमा एकरुपता कायम गर्न जारी गरिएका मानक उपचार प्रोटोकल (एसटीपी)लाई स्वास्थ्य बीमासँग जोडेर प्रभावकारी रूपमा लागू गर्ने विषयमा छलफल भएको हो।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत क्युरेटिभ सेवा प्रभागका निर्देशक डा। पवनजंग रायमाझीसहित पेडियाट्रिक, न्युरोलोजी, कार्डियोलोजी, हेमोफिलिया, ओरल हेल्थ, ईएनटीलगायत १८ क्षेत्रका विशेषज्ञ चिकित्सक सहभागी हुनुहुन्थ्यो।
विशेषज्ञ चिकित्सकहरूले आ–आफ्नो क्षेत्रमा प्रयोग भइरहेका प्रोटोकलका सहज र चुनौतीपूर्ण पक्षबारे जानकारी दिँदै सुधारका लागि सुझाव दिनुभएको थियो। विभिन्न विभाग तथा महाशाखाले छुट्टाछुट्टै प्रोटोकल बनाउँदा समन्वयको अभाव देखिएको भन्दै त्यसलाई समाधान गर्नुपर्नेमा पनि जोड दिइएको थियो।
डा। रायमाझीका अनुसार आवश्यकता हेरी हालसम्म १९ वटा प्रोटोकल तयार भएका छन्। तीमध्ये केही स्वीकृत भएर लागू भइसकेका छन् भने केही प्रक्रियामै छन्। लागू भएका प्रोटोकलमा समेत समयानुकूल परिमार्जन गरी उपचारमा एकरुपता कायम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो।

बिरामीको परीक्षणका क्रममा चिकित्सकले आवश्यकता नहुँदा पनि सीटी स्क्यान, एमआरआईलगायत महँगा परीक्षण सिफारिस गर्दा स्वास्थ्य बीमा कार्यक्रममा अतिरिक्त आर्थिक भार पर्ने भएकाले आवश्यकताका आधारमा मात्र परीक्षण गर्ने स्पष्ट प्रोटोकल बनाउनुपर्नेमा पनि छलफल भएको छ।
प्रोटोकलको परिमार्जन र प्रभावकारी कार्यान्वयनले अनावश्यक परीक्षण तथा महँगा औषधिको प्रयोग घटाउने, बिरामीको उपचार खर्च कम गर्ने र सरकारी स्वास्थ्य कोषको दुरुपयोग रोक्ने अपेक्षा गरिएको छ। यसबाट सरकारी स्वास्थ्य बीमा कार्यक्रमलाई समेत थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्