बोलबम यात्रामा गएको बस भारतमा दुर्घटना, रौतहटका तीन तीर्थयात्रीको मृत्यु
रौतहट । रौतहटबाट बोलबम यात्राका लागि भारतको झारखण्डस्थित देवघर गएका तीर्थयात्री सवार बस दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गरुडा नगरपालिका–६ पोठियाहीका ६० वर्षीय नवल जयसवाल, उनकी श्रीमती र १० वर्षीय शिवम महतोको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गरुडा नगरपालिका–६ पोठियाहीबाट गत आइतबार ना.६ ख १५५४ नम्बरको बसमा ४५ जना तीर्थयात्री भारतको वैद्यनाथ धामका लागि प्रस्थान गरेका थिए । बासुकीनाथको दर्शन सकेर देवघर हुँदै राजगीरतर्फ जाने क्रममा शुक्रबार बिहान करिब ३ बजे झारखण्डको कोडरमा जिल्लास्थित सतगावाँ थाना क्षेत्रमा बस र मालवाहक ट्रक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाइएको छ । ट्रकको अगाडिको भागसँग बस ठोक्किएपछि यात्रुहरू घाइते भएका थिए । दुर्घटनाको खबर पाएलगत्तै सतगावाँ प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी नजिकका अस्पतालमा पठाएको बताइएको छ ।
दुर्घटनामा घाइते हुनेहरूको संख्या र उनीहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ । मृतक तथा घाइतेमध्ये अधिकांश पोठियाहीकै बासिन्दा रहेको स्थानीयले बताएका छन् ।
सतगावाँ थाना प्रमुख बब्लु सिंहका अनुसार प्रारम्भिक अनुसन्धानमा बस चालकलाई अत्यधिक निद्रा लागेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीको भनाइ उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएको छ ।
दुर्घटनाको खबर गाउँमा फैलिएपछि पोठियाही शोकमा डुबेको छ । बोलबम यात्राका लागि घरबाट गएका गाउँले दुर्घटनामा परेको खबर पाएपछि मृतक तथा घाइतेका आफन्त शुक्रबार बिहानै चारवटा सवारी साधन रिजर्भ गरी भारततर्फ गएका छन् । दुर्घटनाको खबरसँगै गाउँमा आफन्तको रुवाबासी चलेको छ भने स्थानीय बासिन्दामा सन्नाटा छाएको छ ।
यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले घटनाबारे आफूले पनि भारतीय सञ्चारमाध्यमबाट जानकारी पाएको बताउनुभयो । उहाँले घटनाको विस्तृत विवरण बुझे प्रयास भइरहेको जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्