तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पा पहिरो: बेपत्ता ४ मध्ये ३ जनाको शव भेटियो, एक अझै बेपत्ता

रोल्पा। रोल्पाको सुनछहरी गाउँपालिका–२ भित्रीगाममा भारी वर्षासँगै आएको पहिरोले दुई वटा घर पुरिँदा तीन जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।

थबाङ गाउँपालिका–५ उवाको कोटलबारा गाउँमा बुधबार पहिरोले पुर्‍याएको जनधनको क्षतिको घटना सेलाउन नपाउँदै गएराति सुनछहरी गाउँपालिका–२ भित्रीगामस्थित फलाबाङ र गिट्ठे गाउँमा पहिरोले ठूलो क्षति पुर्‍याएको हो।

फलाबाङमा पहिरोले स्थानीय वीरबहादुर घर्तीमगरको घर पुर्दा घरधनीसहित तीन जना बेपत्ता भएका थिए। घटनास्थलमा उद्धारका लागि खटिएको प्रहरी टोलीले तीनै जनालाई मृत अवस्थामा फेला पारेको छ।

मृत्यु हुनेमा ७७ वर्षीय वीरबहादुर (विरु) घर्तीमगर, उहाँकी ६८ वर्षीया श्रीमती शनी घर्तीमगर र छिमेकी घरमा बास बस्न आएकी ७० वर्षीया लली घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठले जानकारी दिनुभयो।

यसैगरी, सुनछहरी–२ भित्रीगामकै गिट्ठेमा पहिरोले अन्दाजी ६० वर्षीय लामे बुढामगरको घर पुरिएको छ। घर पुरिँदा बुढामगर बेपत्ता हुनुभएको छ। उहाँको खोजी कार्य जारी रहेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button