२० औँ एसियाली खेलकुदका लागि छनोट भएका दुई खेलाडी पोखराको फेवातालमा प्रशिक्षणमा व्यस्त

पोखरा । आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची–नागोयामा आयोजना हुने २० औँ एसियाली खेलकुदका लागि नेपालबाट क्यानोइङतर्फ छनौट भएका दुई खेलाडी हाल पोखराको फेवातालमा प्रशिक्षणमा व्यस्त हुनु भएको छ । कायक स्लालम तथा कायक क्रस विधामा प्रतिस्पर्धा गर्ने गरी विजय माझी र आशिष राना मगर राष्ट्रिय टोलीमा छनौट भई हाल केही दिन अघिदेखि फेवातालमा प्रशिक्षणमा रहनु भएको हो ।
नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघका प्रमुख प्रशिक्षक निमबहादुर मगरको प्रशिक्षणमा उहाँहरूलाई प्रशिक्षण गराइएको छ । प्रतियोगितालाई लक्षित गर्दै प्राविधिक क्षमता, शारीरिक फिटनेस र प्रतिस्पर्धात्मक कौशलमा अभ्यास गराइएको प्रशिक्षक मगरले बताउनु भयो । २५ वर्षीय विजय माझीका लागि एसियाली खेलकुदको यात्रा अझ विशेष छ । केही वर्षअघिसम्म तमोर नदीमा पर्यटकको सुरक्षाका लागि ¥याफ्टिङ गाइडका रूपमा काम गरेका विजय अहिले नेपाली झण्डा बोकेर एसियाको ठूलो बहुराष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्ने तयारीमा हुनुहुन्छ ।
तमोरको तीव्र बहाव र चुनौतीपूर्ण जलयात्रामा पर्यटकलाई सुरक्षित रूपमा नदी पार गराउने क्रममा हासिल गरेको अनुभवलाई उहाँ अहिले खेलकुदमा उपयोग गरि रहनु भएको छ । र्याफ्टिङ गाइडबाट सुरु भएको उहाँको यात्रा निरन्तर अभ्यास र मेहनतसँगै राष्ट्रिय टोली हुँदै एसियाली खेलकुदसम्म आइपुगेको हो ।
प्रशिक्षक मगरका अनुसार फेवातालमा भइरहेको प्रशिक्षणमा खेलाडीको प्राविधिक दक्षता र शारीरिक तयारीसँगै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि आवश्यक रणनीतिमा समेत जोड दिइएको छ । प्रतियोगिता नजिकिँदै जाँदा प्रशिक्षणलाई थप प्रभावकारी बनाउँदै लगिएको उहाँले बताउनुभयो।
पोखरा जलखेलका लागि महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको अवस्थामा फेवातालमा भइरहेको यो प्रशिक्षणले नेपालको क्यानोइङ खेलको सम्भावनालाई समेत देखाएको मगरले दाबी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्