जापानीज इन्सेफ्लाइटिसबाट झापामा ९ जना सङ्क्रमित, पाँचको मृत्यु
भद्रपुर, झापा । वर्षा याम सुरु भएयता फैलिएको जापानीज इन्सेफ्लाइटिस (जेई)–को सङ्क्रमणबाट सङ्क्रमित झापाका ९ जनामध्ये पाँच जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार मृत्यु हुनेमा तीन जना पुरुष र दुई जना महिला छन् ।
मेचीनगरका ३, हल्दिवारीका १, बाह्रदशीका १, कचनकवलका १, बिर्तामोडका २ र अर्जुनधाराका १ गरी पाँच पुरुष र चार महिलामा जापानीज इन्सेफ्लाइटिसको सङ्क्रमण देखा परेको थियो । त्यसमध्ये पाँच जनाको मृत्यु भइसकेको, एक जना उपचारमा रहेको र तीन जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
सङ्क्रमितहरू अधिकांश ५० वर्षमाथिका छन् । सङ्क्रमितमा एक जना बालक ७ महिनाका र एक जना ४० वर्ष उमेरको रहेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो ।
जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातका सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो। लामखुट्टेको टोकाइपछि भाइरसले मस्तिष्कमा सङ्क्रमण गराउन सक्छ ।
जेई फ्लाभिभाइरस समूहअन्तर्गत पर्ने रोग हो। डेंगी, जिका, पहेँलो ज्वरो र वेस्ट नाइल भाइरस पनि यही समूहमा पर्छन् ।
सुँगुर र हाँसलाई जेई भाइरसको मुख्य स्रोत मानिन्छ। विशेष गरी सुँगुर पाल्ने व्यक्ति तथा धानखेत र पानी जम्ने क्षेत्र आसपास बसोबास गर्नेहरू सङ्क्रमणको उच्च जोखिममा रहने स्वास्थ्य विज्ञहरूको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्