लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
रौतहट। रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा मङ्गलवार डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ ।

बेपत्ता हुनेमा देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रमतुल्लाह, सोही स्थानका शेख खुरौसेदकी १० वर्षीया छोरी रौशन खातुन र शेख ओसि अख्तरकी १० वर्षीया छोरी सवनम खातुन रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मङ्गलबार दिउँसो करिब १ः५० बजे तीनै जना लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर खोजी तथा उद्धार कार्य सुरु गरेको थियो ।
बुधबार बिहान करिब ७ः३० बजे देवाही गोनाही नगरपालिका–१ करुनियाका करमे आलमका १० वर्षीय छोरा मोहम्मद रमतुल्लाह र सोही स्थानका हिशी अख्तरकी १० वर्षीया छोरी सवनम खातुनको शव परोहा नगरपालिका–२ जिङ्गडवा क्षेत्रस्थित लालबकैया नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलबाट करिब पाँच किलोमिटर दक्षिणतर्फ रमतुल्लाहको शव तथा करिब ५.२ किलोमिटर दक्षिणतर्फ सवनमको शव फेला परेको हो । दुवै शव करिब २०० मिटरको दूरीमा फेला परेका थिए ।
शव फेला परेपछि कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमान्डमा अपराध अनुसन्धानसहितको टोली घटनास्थलमा पुगेको छ । जिङ्गडवा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक लालबाबु सहनीको कमान्डमा समेत प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनापछि तेस्रो बालिका रौशन खातुनको खोजी कार्य भने जारी रहेको छ । यसअघि बेपत्ता बालबालिकाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस देवाहीबाट सहायक प्रहरी निरीक्षक भक्तबहादुर शाहीको कमान्डमा सात जना तथा इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमान्डमा १६ जनाको टोली परिचालन गरिएको थियो ।
त्यसैगरी खोजीलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट सहायक प्रहरी निरीक्षक भीमबहादुर पुनको कमान्डमा नौ जनाको डाइभिङ तथा उद्धार टोली रबर बोटसहित घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।
सुरक्षाकर्मीका साथै स्थानीय बासिन्दासमेत बेपत्ता बालिकाको खोजीमा जुटेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले खोजी तथा आवश्यक कानुनी प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्