‘अपराध नियन्त्रण, रोकथाम तथा शान्ति सुव्यवस्था आफ्नो पहिलो प्राथमिकता’
विराटनगर । कोशी प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक शेखर खनालले लागुऔषध एवं अपराध नियन्त्रण, रोकथाम तथा शान्ति सुव्यवस्था आफ्नो कार्यकालको मुख्य प्राथमिकताको विषय रहेको बताउनुभएको छ ।

विराटनगर स्थित कोशी प्रदेश प्रहरी कार्यालयको प्रमुख भएर भर्खरै आउनुभएका प्रहरी नायव महानिरीक्षक खनालले विराटनगर स्थित कार्यालयमा आज आयोजित सञ्चारकर्मीहरू सँगको परिचयात्मक कार्यक्रममा सक्षम प्रहरी र सक्षम नागरिकको सहयोगमा मात्र अपराधरहित समाजको निमार्ण गर्न सकिने प्रष्ट पार्नुभयो ।
लागु औषध नियन्त्रण, साइबर सुरक्षा, ट्राफिक व्यवस्थापन तथा राजमार्ग सुरक्षा साथै प्रहरीले आम नागरिकलाई दिने हरेक प्रकारको सेवा सहजा बनाउने गरि आफूले काम गर्ने उहाँको भनाई थियो ।
डिआइजी खनालले ब्राउन सुगरको आपूर्ति शृङ्खला (सप्लाई चेन) लाई नै ध्वस्त बनाउने गरी काम गर्ने बताउँदै त्यसका लागि झापा, मोरङ र सुनसरीमा लागुऔषध विरुद्ध विशेष अभियान सुरु गरिएको र यसलाई स्थानीय तहको वडास्तरसम्म समिति गठन गरी प्रभावकारी बनाइने जानकारी दिनुभयो ।
कोशी प्रदेशमा ४ हजार २ सय ७.९ किलोमिटर भारतसँगको खुला सिमाना जोडिएका कारण पनि चोरी, तस्करी, लागुपदार्थ ओसारपसारजस्ता अपराधजन्य गतिविधि सुरक्षाका हिसाबले चुनौतीपूर्ण रहेको उहाँको भनाई थियो ।
नागरिकको विश्वास जित्ने, अपराध रोकथाम सिसिटिभी क्यामेरा, प्रविधिमैत्री निगरानी र आधुनिक उपकरणसहितको अनुसन्धानलाई जोड दिइने डिआइजी खनालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्