तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रदेश स्तरमा देखिएका समस्या मन्त्रालयबाट तत्काल निरूपण गर्नुपर्छ’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशस्तरमा देखिएका समस्या मन्त्रालय तहबाट तत्काल निरूपण गर्नुपर्ने बताउनुभएको छ ।  

विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय विकास समस्या समाधान समितिको  आज सम्पन्न बैठकमा उहाँले कानुनको मर्यादाभित्र रहेर प्रदेश स्तरमा देखिएका सबै काम अगाडि बढाउन आग्रह गर्नुभयो ।

संघीय सरकारमा पटक पटक उठाइएका कतिपय विषयहरू अझै पनि किनारा नलागेकाले ती विषयलाई  सशक्त ढंगले कुरा उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

बैठकले प्रदेशमा देखिएका विकाससम्बन्धी समस्या समाधानका लागि संघीय सरकारसमक्ष उठाउने विषयहरू तय गरेको छ । ती विषय राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा समेत उठाउने निर्णय गरेको छ ।

बैठकले संघीय निजामती ऐन नआउँदा प्रदेशमा कर्मचारी व्यवस्थापनमा असर परेको भन्दै संघीय निजामती ऐन छिटो ल्याउनुपर्नेमा जोड दिएको छ ।

प्रदेशलाई आफ्ना संरचना निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन र जग्गा संरक्षण एवं भोगाधिकार दिनुपर्ने विषयलाई पनि बैठकमा जोडदार रुपमा उठाइएको छ ।

त्यस्तै, ट्राफिक प्रहरीले उठाउँदै आएको जरिमाना संघीय सञ्चित कोषमा नभई प्रदेश सञ्चित कोषमा जम्मा हुनुपर्ने विषयलाई पनि पुनः उठाउने निर्णय गरिएको छ । यातायातको क्षेत्र प्रदेशको परेकाले ट्राफिक प्रहरीले उठाएको जरिवाना केन्द्रले लिन नपाउने दाबी प्रदेश सरकारहरूले गर्दै आएका छन् । प्रदेशमा खटाइने पालिकाका प्रशासकीय अधिकृतहरू एकमुष्ट रूपमा प्रदेशमा पठाउनुपर्ने विषयमा पनि बैठकले जोड दिएको छ ।

संविधानले प्रदेशलाई दिएको अधिकार संघीय कानुन नबन्दा कार्यान्वयनमा समस्या परेकोले यस्ता विषयहरू संसद् र सरकारबाट छिटो किनारा लगाउने लगाउनुपर्ने सहभागीहरूले औँल्याएका छन् । 

प्रहरी समायोजन लगायतका ऐनका विषय पटक पटक उठाउँदा पनि केन्द्रीय सरकारबाट सुनुवाइ नभएको विषयमा समेत बैठकमा छलफल भएको प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले जानकारी दिनुभयो ।

स्थानीय तहमा काम गरेका कर्मचारीहरूको सरुवा गर्दा अवकाशपछि सेवा सुविधा कसरी दिने भन्ने विषयमा अन्योल देखिएको भन्दै त्यसका लागि देशव्यापी रूपमा एउटै अवधारणा ल्याउनुपर्ने विषय पनि बैठकमा उठाइएको उहाँले बताउनुभयो ।

बैठकमा प्रदेश सरकारका मन्त्री, सचिव तथा प्रदेश योजना आयोगका उपाध्यक्ष एवं सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button