भ्रष्टाचार मुद्दामा वडाध्यक्षसहित तीन जनाविरुद्ध आरोपपत्र दायर

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष कौशल कुमार धोवी, वडा सचिव वीर बहादुर थापा मगर र अन्य प्रतिवादीविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार सरकारी कागजात सच्याउने तथा गैरकानुनी लाभ दिलाउने उद्देश्यले पदको दुरुपयोग गरेको सम्बन्धमा अनुसन्धानपछि विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।
अनुसन्धानका क्रममा वडा नम्बर २० का वडाध्यक्ष धोवी, वडा सचिव थापा मगर, विकास कुमार चापागाईं तथा रविन्द्र लामिछानेसहितका व्यक्तिहरूबीचको मिलेमतोमा सरकारी जग्गासम्बन्धी योजनामा अनियमितता भएको आयोगको दाबी छ ।
आयोगले सार्वजनिक गरेको विवरण अनुसार, भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर १७ स्थित कित्ता नम्बर ९९८, क्षेत्रफल १६४.१४ वर्गमिटर जग्गा खरिद प्रयोजनका लागि रु। ७० लाखको कारोबार देखाउने गरी झुट्टा तथा नक्कली कागजात तयार गरिएको आरोप छ । उक्त कारोबारसम्बन्धी लिखत तथा सरकारी अभिलेखमा समेत तथ्य फरक पार्ने कार्य भएको आयोगको अनुसन्धानबाट खुलेको जनाइएको छ ।
त्यसैगरी, वडा कार्यालयको सरकारी छापको दुरुपयोग गरी गलत लिखत तयार गर्ने तथा सरकारी अभिलेखमा गलत विवरण कायम गराउने कार्य भएको आयोगको आरोप छ ।
आयोगले प्रतिवादीहरूले पद तथा ओहदाको दुरुपयोग गरी गैरकानुनी लाभ लिएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न दफा अन्तर्गत कारबाही तथा सजायको मागदाबी गरेको छ ।
आयोगका अनुसार मुद्दामा संलग्न प्रतिवादीहरूलाई आरोपको प्रकृति र कसुरअनुसार कैद, जरिवाना तथा अन्य कानुनी सजायको माग गरिएको छ । मुद्दाको अन्तिम फैसला भने विशेष अदालतको न्यायिक प्रक्रियाबाट हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्