साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौँ । साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज काठमाडौँमा विशेष समारोह आयोजना गरिएको छ ।
नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए म्निखरले आयोजना गर्नुभएको समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो ।
समारोहमा मन्त्रिपरिषद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, वरिष्ठ सञ्चारकर्मी, समाजका प्रतिष्ठित व्यक्ति तथा साउदी अरबका मित्रराष्ट्रका प्रतिनिधिको सहभागिता थियो ।
सो अवसरमा राजदूत म्निखरले राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राजा अब्दुलअजिज बिन अब्दुर्रहमान अल साउदले एकीकरण गरेको साउदी अरबले पुस्तौँदेखि आफ्ना मूल्य, पहिचान र परम्पराको संरक्षण गर्दै प्रगतिपथमा अघि बढिरहेको बताउनुभयो ।
यस वर्ष साउदी अरबको राष्ट्रिय दिवसको मूल सन्देश ‘हाम्रो गौरव हाम्रो प्रकृतिमा’ रहेको छ ।
नेपाल र साउदी अरबबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बन्दै गएको छ ।







प्रतिक्रिया राख्नुहोस्