तपाईँ सुन्दै हुनुहुन्छः

यलुङ–री हिमपहिरोमा परेका आरोहीको शव नौ महिनापछि परिवारको जिम्मा लगाइयो

दोलखा । यलुङ–री हिमाल आरोहणको क्रममा हिमपहिरोमा परेर बेपत्ता भएका ५ जना आरोहीको शव नौ महिनापछि आधार शिविरबाट सङ्कलन गरेर परिवारको जिम्मा लगाइएको छ । 

दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर–९ को रोलवालिङ क्षेत्रमा पर्ने ५,६३० मिटरको यलुङ– री हिमाल आरोहणको लागि गत कार्तिक ११ गते १५ आरोही रोलवालिङ क्षेत्र गएका थिए । यलुङ– री हिमाल आरोहणका क्रममा उनीहरू कार्तिक १७ गते हिमपहिरोमा परेका थिए । हिमपहिरोमा परेर ७ जना बेपत्ता भएकोमा दुई जनाको शव त्यति बेलै भेटिएको थियो ।

हिमपहिरोमा परेर बेपत्ता भएका ५ जनाको शव एक साता अघि स्थानीयले देखेपछि शुक्रवारबाट शव सङ्कलनको काम सुरु गरिए पनि खराब मौसमका कारण सोमवार मात्र शवहरू परिवारको जिम्मा लगाउन सकिएको ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जी शेर्पाले जानकारी दिनुभयो ।

यलुङ–री हिमालमा देखिएका शव सङ्कलनको लागि ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जी शेर्पाको नेतृत्वमा हेली एभरेष्टको पाइलट द्वय पासतेन्जी शेर्पा र प्रिया अधिकारी, इन्जिनियर कमल श्रेष्ठ, स्थानीय बाबुराम ठकुरी तथा वरिष्ठ हवल्दार जयश्वर प्रसाद ठकुरी आधार शिविरमा पुग्नुभएको थियो । शवहरू सङ्कलनको लागि वडाले पनि आवश्यक सहयोग र समन्वय गरेको वडा नम्बर–९ का वडा अध्यक्ष ङिमा गेली शेर्पाले बताउनुभयो ।

आइतबार बिहान सङ्कलन गरेर रोल्वालिङ क्षेत्रकै ‘ना’ गाउँमा राखिएको शवहरू सोमवार मौसममा सुधार भएपछि परिवारको जिम्मा लगाउन लामाबगरको गोंगर हुँदै काठमाडौँ पुर्‍याएको ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जीले बताउनुभयो ।

हिमाल आरोहणको क्रममा बेपत्ता भएका ७ जना मध्य फ्रान्सका मेनफेडी क्रिस्टिना एण्ड्रे (पासपोर्ट नम्बर 9DK92514) र इटलिका पाउलो कोको (पासपोर्ट नम्बर YB6411963) को शव त्यति बेलै भेटिएको थियो । 

दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले आइतबार सङ्कलन गरिएका ५ शव मध्ये दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर–९ का पदम तामाङको शव चरिकोटमा राखिएको बताउनुभयो । मृतक तामाङको शव पोष्टमार्टपछि परिवारको जिम्मा लगाइने प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लामाले जानकारी दिनुभयो ।

क्यानेडियन मार्को डि मारसेलो (पासपोर्ट नम्बर P823193NG), जर्मनका ज्याकोब इसरिवर (पासपोर्ट नम्बर CHIHX6HRZ), इटालीका मार्कोस किरचिलर (पासपोर्ट नम्बर रYB3843711) र सोलुखुम्बु जिल्ला बुक्साका मेरे कार्कीको शव काठमाडौँ लगिएको र आवश्यक कानुनी प्रक्रिया पुरा गरी परिवारको जिम्मा लगाइएको ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button