बारामा राजस्व सङ्कलनमा १७ प्रतिशत वृद्धि, करदाता सङ्ख्या ९३ हजार नाघ्यो

बारा । आन्तरिक राजस्व कार्यालय बारा, सिमराले आर्थिक वर्ष २०८२/८३ मा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि गरेको छ ।
कार्यालयका अनुसार आव २०८१/८२ को तुलनामा गत आर्थिक वर्ष २०८२/८३ मा कुल राजस्व सङ्कलन १७ प्रतिशतले वृद्धि भएको हो । कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०८२/८३ मा १७ अर्ब ८१ करोड ६७ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख दिनेश पाण्डेले जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्षमा कार्यालयले १५ अर्ब २२ करोड ७७ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।आव २०८२/८३ का लागि कार्यालयले २१ अर्ब ४ करोड ४४ लाख ८६ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।
लक्ष्यको तुलनामा ८५ प्रतिशत राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । राजस्वका विभिन्न शीर्षकमध्ये आयकर सङ्कलनमा सबैभन्दा बढी वृद्धि भएको छ । आव २०८१/८२ मा ८५ करोड १० लाख ९२ हजार रुपैयाँ आयकर सङ्कलन भएकामा आव २०८२/८३ मा १०४.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७४ करोड २२ लाख ३१ हजार रुपैयाँ पुगेको छ । आयकरतर्फ कार्यालयले निर्धारण गरेको २ अर्ब २२ करोड ९० लाख ७३ हजार रुपैयाँ लक्ष्यको ७८ प्रतिशत प्रगति हासिल भएको छ।त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) सङ्कलन पनि उल्लेख्य बढेको छ ।
अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८ करोड ७ लाख ४० हजार रुपैयाँ भ्याट सङ्कलन भएकोमा गत आर्थिक वर्षमा ४१.४६ प्रतिशतले वृद्धि भई १ अर्ब ५२ करोड ८८ लाख ८ हजार रुपैयाँ पुगेको छ। भ्याटतर्फ निर्धारित लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।राजस्व सङ्कलनको मुख्य हिस्सा भने अन्तःशुल्कले ओगटेको छ। आव २०८१/८२ मा १० अर्ब ४७ करोड ९२ लाख ६८ हजार रुपैयाँ अन्तःशुल्क सङ्कलन भएकोमा आव २०८२/८३ मा ११.२९ प्रतिशतले वृद्धि भई ११ अर्ब ६६ करोड २० लाख ४७ हजार रुपैयाँ पुगेको छ ।
अन्तःशुल्कतर्फ कार्यालयले लक्ष्यको ९३ प्रतिशत प्रगति हासिल गरेको छ। राजस्व सङ्कलनमा वृद्धि भएसँगै करदाताको सङ्ख्यामा समेत उल्लेख्य विस्तार भएको छ। आव २०८१/८२ मा कुल करदाता ८४ हजार ४८४ रहेकामा आव २०८२/८३ मा १०.२ प्रतिशतले वृद्धि भई ९३ हजार १०९ पुगेका छन् ।
करदाताको सङ्ख्या बढ्नुमा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्या वृद्धि प्रमुख देखिएको छ। व्यक्तिगत प्यान लिने करदाताको सङ्ख्या ५७ हजार ७२७ बाट बढेर ६४ हजार ६०० पुगेको छ । त्यस्तै, आयकरमा दर्ता भएका करदाताको सङ्ख्या १५ हजार ५१८ बाट बढेर १६ हजार ४५४ पुगेको छ। भ्याटमा दर्ता भएका व्यवसायीको सङ्ख्या ९ हजार ५२४ बाट बढेर १० हजार २४५ पुगेको छ।अन्तःशुल्कमा दर्ता भएका करदाताको सङ्ख्या पनि बढेको छ ।
आव २०८१/८२ मा १ हजार ५६६ रहेको अन्तःशुल्क दर्ता करदाताको सङ्ख्या आव २०८२/८३ मा बढेर १ हजार ६४८ पुगेको छ। त्यस्तै डब्लु प्यान लिने करदाताको सङ्ख्या १४९ बाट बढेर १६२ पुगेको छ । राजस्व सङ्कलनमा भएको वृद्धि र करदाताको दायरा विस्तारले स्थानीय क्षेत्रमा आर्थिक गतिविधि बढ्दै गएको तथा कर प्रशासनको पहुँच विस्तार हुँदै गएको सङ्केत गरेको छ । विशेषगरी आयकर र भ्याट सङ्कलनमा भएको उल्लेख्य वृद्धिले व्यवसाय तथा आर्थिक कारोबारमा सुधार आएको देखाएको छ ।








प्रतिक्रिया राख्नुहोस्