सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, दैनिक उपभोग्य वस्तुको मूल्य आकासियो
इलाम। मेची राजमार्गअन्तर्गत माइखोला–राजदुवाली सडकखण्ड लामो समयदेखि अवरुद्ध हुँदा इलाममा खाना पकाउने ग्यासको आपूर्ति ठप्प भएको छ। ग्यास अभावसँगै तरकारी, फलफूल र अन्य दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढेपछि उपभोक्ताको दैनिकी प्रभावित बनेको छ।
करिब एक सातादेखि ग्यास आउन छाडेपछि विशेषगरी सदरमुकाममा कोठा भाडामा बस्दै अध्ययन गरिरहेका विद्यार्थी र सर्वसाधारण बढी समस्यामा परेका छन्। खाली सिलिन्डर बुझाएको दुई सातासम्म पनि ग्यास नपाएपछि केही विद्यार्थी घर फर्किन थालेका छन् भने कतिपयले इन्डक्सन चुलो प्रयोग गरेर गुजारा चलाइरहेका छन्।
ग्यास व्यवसायी खम्बासिंह पौडेलका अनुसार मासिक करिब ४०० सिलिन्डर आउने इलाममा अहिले १३० सिलिन्डर मात्र आपूर्ति भइरहेको छ। पर्याप्त ग्यास नआएकाले गोदाममा करिब ५०० खाली सिलिन्डर थन्किएका छन्।
सडक अवरोधका कारण गाउँबाट तरकारी तथा अन्य उपभोग्य सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ। त्यसको असर बजार मूल्यमा देखिएको व्यवसायीहरू बताउँछन्। आलु, गोलभेडा, प्याज, हरियो तरकारी, फलफूल, चामल र खानेतेलको मूल्य उल्लेख्य रूपमा बढेको छ भने हटिया बजारमा समेत मागअनुसार सामग्री उपलब्ध हुन सकेको छैन।
उद्योग वाणिज्य संघ इलामका अध्यक्ष कृष्ण पौडेलले सडक अवरोधका कारण आपूर्ति प्रणाली प्रभावित भएको भन्दै ग्यास डिलर र सम्बन्धित निकायसँग नियमित समन्वय भइरहेको जानकारी दिए। सडक सञ्चालनमा आएपछि ग्यास र अन्य उपभोग्य वस्तुको आपूर्ति सहज हुने अपेक्षा गरिएको उनले बताए।
स्थानीयवासीले ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव रोक्न तथा मूल्यवृद्धि नियन्त्रणका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी पहल गर्न माग गरेका छन्।





प्रतिक्रिया राख्नुहोस्