कालीगण्डकीको बहाव बढ्दा सेतीबेनी बजार डुबानमा, प्रहरीद्वारा तीन जनाको उद्धार
स्याङ्जा । निरन्तरको वर्षापछि कालीगण्डकी नदीको बहाव बढ्दा स्याङ्जाको गल्याङ नगरपालिका ५ स्थित सेतीबेनी बजार डुबानमा परेको छ । बाढीका कारण करिब ३५ घरधुरी प्रभावित भएका छन् भने तीमध्ये १५–१६ घर तथा पसलमा पानी पसेको छ । सेतीबेनी मन्दिर परिसर पनि डुबानमा परेको छ ।
बाढीका कारण स्थानीयवासी त्रासमा रहेका छन् । डुबानको जोखिम बढेपछि नेपाल प्रहरीले तत्काल उद्धार अभियान सञ्चालन गरेको छ । जोखिममा परेकी स्थानीय ५६ वर्षीया रन्नता न्यौपानेलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । त्यसैगरी सेतीबेनी स्थित मन्दिरको दोस्रो तलामा फसेका दुई जना पुजारीको पनि प्रहरीले सकुशल उद्धार गरेको छ ।
प्रहरी चौकी पिडिखोलाबाट प्रहरी सहायक निरीक्षक पदम थापाको कमाण्डमा खटिएको चार सदस्यीय टोलीले उद्धार कार्य सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । टोलीले प्रभावित क्षेत्रमा सुरक्षा सतर्कता बढाउनुका साथै आवश्यक निगरानी समेत गरिरहेको छ ।
कालीगण्डकी नदीको बहाव अझै बढ्दो क्रममा रहेकाले सेतीबेनी बजार तथा नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा बस्न र अनावश्यक रूपमा नदी किनारमा नजान आग्रह गरिएको छ ।
यसैबीच प्रभावित क्षेत्रमा बजार व्यवस्थापन, सम्भावित मानवीय क्षति न्यूनीकरण तथा उद्धार बचाउका कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायसँग समन्वय भइरहेको गल्याङ नगरपालिका ५ का वडा अध्यक्ष घनश्याम भट्टराईले जानकारी दिनुभएको छ । उहाँले नदीको बहाव सामान्य नहुँदासम्म प्रशासन र सुरक्षा निकायले जारी गरेका सूचनाको पालना गर्न तथा जोखिमयुक्त क्षेत्रमा नजान सबैमा अनुरोध गर्नुभएको छ ।





प्रतिक्रिया राख्नुहोस्