तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा तीन करोड लगानीमा अत्याधुनिक फिटनेस सेन्टर सञ्चालन

बाँके। बाँकेमा करिब तीन करोड रुपैयाँको लगानीमा अत्याधुनिक प्रविधि र आधुनिक फिटनेस उपकरणसहित ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा आएको छ।

स्वस्थ जीवनशैलीप्रति बढ्दो जनचेतना र व्यस्त जीवनशैलीका कारण शारीरिक व्यायामको आवश्यकता बढ्दै गएको अवस्थामा व्यवस्थित, सुरक्षित र गुणस्तरीय फिटनेस सेवा उपलब्ध गराउने उद्देश्यले फिटनेस सेन्टर सञ्चालनमा ल्याइएको सञ्चालक मोहित गुप्ताले जानकारी दिनुभयो।

फिटनेस सेन्टरको उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले स्वस्थ जीवनका लागि नियमित व्यायाम र शारीरिक सक्रियता आवश्यक रहेको बताउनुभयो। आधुनिक पूर्वाधारसहितको फिटनेस सेन्टर सञ्चालनमा आउनु सकारात्मक भएको उल्लेख गर्दै उहाँले फिटनेस क्षेत्रलाई स्वास्थ्य, अनुशासन र व्यावसायिकतासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा भरतोलनका ओलम्पियन तथा लुम्बिनी प्रदेश सरकारका पूर्व वन तथा वातावरण संरक्षणमन्त्री सुरेन्द्र हमालले शारीरिक स्वास्थ्य र मानसिक स्फूर्तिका लागि नियमित व्यायाम अपरिहार्य रहेको बताउनुभयो। उहाँले युवापुस्तालाई खेलकुद र फिटनेसप्रति आकर्षित गर्न यस्ता संस्थाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

नेपालगञ्ज उपमहानगरपालिका–२ का वडाध्यक्ष मनोज श्रेष्ठले आधुनिक र व्यवस्थित फिटनेस सेन्टरले स्थानीय स्तरमा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न सहयोग पुग्ने बताउनुभयो।

कार्यक्रमको अध्यक्षता ‘एम.आर. गुरु फिटनेस’का सञ्चालक रमेश जैसवालले गर्नुभएको थियो भने सञ्चालन भाइराजा श्रीवास्तवले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले फिटनेस सेन्टरको सफलताको शुभकामना व्यक्त गरेका थिए।

सञ्चालकका अनुसार फिटनेस सेन्टरमा एकैपटक करिब १५० जनालाई सेवा दिन सकिने क्षमता रहेको छ। यहाँ अत्याधुनिक उपकरणसहित तन्दुरुस्ती, मांसपेशी विकास, तौल व्यवस्थापन तथा समग्र स्वास्थ्य सुधारमा केन्द्रित प्रशिक्षण र सेवा उपलब्ध गराइनेछ।

स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै स्वस्थ जीवनशैली प्रवर्द्धनमा समेत यस फिटनेस सेन्टरले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button