स्याङ्जामा उद्योग दर्ता भन्दा खारेजीको संख्या बढ्यो
स्याङ्जा । स्याङ्जामा नयाँ उद्योग तथा व्यावसायिक फर्म थपिने भन्दा सञ्चालनमा रहेका उद्योग व्यवसाय बन्द हुने क्रम बढेको देखिएको छ । आर्थिक वर्ष २०८२/८३ को तथ्याङ्क अनुसार जिल्लामा दर्ता भएका नयाँ उद्योग तथा फर्म भन्दा ४३ वटा बढी खारेज भएका छन् ।

एक वर्षमा उद्योगतर्फ १४९ र वाणिज्यतर्फ १४२ गरी २९१ नयाँ उद्योग तथा व्यावसायिक फर्म दर्ता भएका छन् तर यही अवधिमा उद्योगतर्फ १६९ र वाणिज्यतर्फ १६५ गरी ३३४ उद्योग तथा फर्म खारेज भएका छन् ।
एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले नयाँ दर्ताबाट जिल्लामा ३६ करोड ४० लाख रुपैयाँ नयाँ लगानी थपिएको बताउनुभयो । तर खारेजीमा परेका उद्योग तथा फर्ममा रहेको करिब ४१ करोड ८५ लाख रुपैयाँ लगानी व्यवसायबाट बाहिरिएको देखिन्छ ।
पछिल्लो समय उद्योग तथा व्यवसाय खारेज हुनुको प्रमुख कारण मध्ये युवाशक्ति वैदेशिक रोजगारीतर्फ पलायन हुनु रहेको कार्यालयले जनाएको छ । युवा पुस्ता बिदेसिए पछि घरपरिवारले सञ्चालन गर्दै आएका व्यवसाय समेत बन्द हुने क्रम बढेको पौडेलले बताउनुभयो ।
यद्यपि जिल्लामा नयाँ उद्यमशीलताको प्रयास पनि रोकिएको छैन । दर्ता भएका नयाँ उद्योगमध्ये कृषि, उत्पादनमूलक, सप्लायर्स तथा पर्यटनसँग सम्बन्धित व्यवसायको संख्या उल्लेख्य रहेको कार्यालयले जनाएको छ । महिलालाई उद्योग दर्ता गर्दा दस्तुरमा ५० प्रतिशत छुटको व्यवस्था भएपछि महिलाको नाममा उद्योग दर्ता गर्ने क्रम समेत बढेको पौडेलले बताउनुभयो ।
यसैगरी आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा उद्योगतर्फ ९७६ र वाणिज्यतर्फ १ हजार २१ गरी १ हजार ९९७ उद्योग, फर्म तथा पसल नवीकरण भएका छन् । नवीकरणबाट करिब ६० लाख रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्