निर्माण सम्पन्न भएको १८ महिनापछि अल्कासाँघु मोटरेबल पुल सञ्चालनमा

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१ स्थित अल्कासाँघु मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएको करिब १८ महिनापछि बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
जग्गा विवादका कारण लामो समयदेखि सञ्चालनमा आउन नसकेको पुल सम्बन्धित जग्गाधनी र छायाँनाथ रारा नगरपालिकाबीच सहमति भएपछि सञ्चालनमा ल्याइएको हो।
पुल सञ्चालनमा आएपछि मुगुमकार्मारोङ गाउँपालिका तथा छायाँनाथ रारा नगरपालिका–१०, ११ र १२ का स्थानीयवासीले सुरक्षित, सहज र नियमित रूपमा आवतजावत गर्न सक्ने भएका छन्। लामो समयदेखि प्रयोगमा आउन नसकेको पुल सञ्चालनमा आएपछि स्थानीयवासी खुसी भएका छन्।
पुल सञ्चालनका लागि सडक विस्तार तथा आवश्यक पूर्वाधार निर्माणमा नगर प्रमुख विष्णुकुमार भामको नेतृत्वमा जनप्रतिनिधि र सुरक्षा निकायले समन्वय गरेका थिए। पुल निर्माण तथा सडक विस्तारका लागि जग्गा उपलब्ध गराउने जग्गाधनी, छायाँनाथ रारा नगरपालिका, वडा नं. १, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयवासी तथा श्रमदान गर्ने सबैको सहयोग रहेको नगरपालिकाले जनाएको छ।
करिब ८ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको उक्त मोटरेबल पुल सञ्चालनमा आएपछि अब निर्वाध रूपमा सवारीसाधन आवतजावत गर्न सक्ने भएका छन्। साथै, स्थानीयवासीले खोला तरेर आवतजावत गर्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ।








प्रतिक्रिया राख्नुहोस्