तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङमा १२८ मेगावाटको तमोर–मेवा जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु

ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ।

फुङ्लिङ नगरपालिका–१ मा बुधबार आयोजित कार्यक्रममा स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुदीपकुमार चौधरी, फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझालगायत सञ्चालक समितिका पदाधिकारीहरूको उपस्थितिमा सुरुङ उत्खनन (टनल ब्लास्टिङ) कार्यको शुभारम्भ गरिएको हो।

कम्पनीका अनुसार आयोजनाको कुल अनुमानित लागत २३ अर्ब ४ करोड रुपैयाँ रहेको छ। आयोजनाको वित्तीय व्यवस्थापनमा सिद्धार्थ बैंक लिमिटेडले प्रमुख (लिड) बैंकको भूमिका निर्वाह गरिरहेको छ भने माछापुच्छ्रे बैंक लिमिटेड सह–प्रमुख (को–लिड) बैंकका रूपमा सहभागी छ। दुवै बैंकको ऋण लगानीले आयोजनाका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ।

निर्माण सम्पन्न भएपछि १२८ मेगावाट क्षमताको यस आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। कम्पनीले निर्धारित समयमै आयोजना सम्पन्न गर्दै सुरक्षा मापदण्ड र वातावरणीय पक्षलाई उच्च प्राथमिकताका साथ निर्माण कार्य अघि बढाइने जनाएको छ।

यो आयोजना फुङ्लिङ नगरपालिका–१, २, ३, ८ र ९, मिक्वाखोला गाउँपालिका–१ र २ तथा मेरिङ्देन गाउँपालिका–३ मा फैलिएको छ। आयोजनालाई २०८५ साल असोजदेखि व्यावसायिक उत्पादनमा ल्याउने लक्ष्य राखिएको छ।

स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले २०७७ असोज २५ गते विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमति प्राप्त गरेको थियो। आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन २०७५ असार ३१ गते तत्कालीन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको थियो। साथै, नेपाल विद्युत् प्राधिकरणसँग २०८० असोज २४ गते विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।

आयोजनाबाट उत्पादन हुने विद्युत् मैवाखोलाको ढुंगेसाँघुस्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button