बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न
बारा । यस वर्ष बारा जिल्लामा धान रोपाइँ शत प्रतिशत सम्पन्न भएको छ । समयमै पर्याप्त वर्षा भएपछि किसानहरूले सहज रूपमा रोपाइँ सम्पन्न गरेका हुन् ।

कृषि ज्ञान केन्द्र बाराका कार्यालय प्रमुख राजनारायण प्रसाद साहका अनुसार साउन २० गतेसम्म जिल्लाभर धान रोपाइँ सकिएको छ । चालु आर्थिक वर्षमा जिल्लामा करिब ४५ हजार १०० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य राखिएको भए पनि अनुकूल मौसम र पर्याप्त वर्षाका कारण ४६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा भने लामो समयसम्म वर्षा नहुँदा सुख्खाको समस्या देखिएको थियो । त्यसबेला ४६ हजार २० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य रहे पनि ४५ हजार ९९ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको थियो, जुन लक्ष्यको करिब ९८ प्रतिशत हो । कार्यालय प्रमुख साहका अनुसार यस वर्ष मनसुन समयमै सक्रिय भएकाले किसानले रोपाइँका लागि पर्याप्त सिँचाइको सुविधा पाएका थिए ।







प्रतिक्रिया राख्नुहोस्