दुई वर्षदेखि बन्द भेरी अस्पतालको सिटी स्क्यान सेवा पुनः सुरु
बाँके । भेरी अस्पताल नेपालगञ्जमा करिब दुई वर्षदेखि प्राविधिक कारणले बन्द रहेको सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएको छ । सेवा पुनः सञ्चालनमा आएसँगै अस्पतालमा उपचारका लागि आउने बिरामीलाई आवश्यकताअनुसार सिटी स्क्यान सेवा सहज रूपमा उपलब्ध हुने भएको छ ।

सिटी स्क्यान सेवा पुनः सञ्चालन कार्यक्रममा अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डा. डक्टप्रसाद धिताल, सिटी स्क्यान विभागका प्रमुख सञ्जीव मिश्रा लगायत अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता थियो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले विगत करिब दुई वर्षदेखि प्राविधिक कारणले बन्द रहेको सिटी स्क्यान सेवा पुनः नियमित रूपमा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले विशेषज्ञ चिकित्सकको सिफारिसअनुसार आवश्यक सिटी स्क्यान सेवा अब भेरी अस्पतालबाटै सहज, सुरक्षित र गुणस्तरीय रूपमा उपलब्ध हुने बताउनुभयो ।
सिटी स्क्यान सेवा सञ्चालनमा आएपछि बिरामीले अन्यत्र गएर परीक्षण गराउनुपर्ने बाध्यता कम हुनुका साथै समयमै रोग पहिचान तथा उपचारमा सहजता पुग्ने र बिरामीको आर्थिक भारसमेत घट्ने अस्पतालको विश्वास छ ।
प्रमुख मेडिकल सुपरिटेन्डेन्ट दर्नालले भेरी अस्पताल जनताको विश्वासको केन्द्र भएकाले बिरामीलाई सम्मानजनक, सुरक्षित, गुणस्तरीय र समयमै स्वास्थ्य सेवा उपलब्ध गराउनु अस्पतालको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।
सिटी स्क्यान सेवा लामो समयदेखि बन्द हुँदा भेरी अस्पतालमा उपचारका लागि आउने बिरामीले निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर परीक्षण गराउनुपर्ने तथा कतिपय अवस्थामा नेपालगन्जबाहिर जानुपर्ने बाध्यता रहँदै आएको थियो ।








प्रतिक्रिया राख्नुहोस्