तपाईँ सुन्दै हुनुहुन्छः

सिंहको कवितासङ्ग्रह ‘लोकतन्त्रको अस्मिता’ लोकार्पण

काठमाडौँ। कवि मणिराज सिंहको कवितासङ्ग्रह ‘लोकतन्त्रको अस्मिता’को लोकार्पण गरिएको छ । ज्योति साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा लोकसंस्कृतिविद् प्रा. तुलसी दिवसले सो पुस्तकको विमोचन गर्नुभएको हो । 

साहित्यकार दिवसले कवि सिंह विचारको अग्निशिखा बोकेर हिँड्ने सचेत कवि भएको बताउँदै कवितालाई कोठाको विलासिताबाट निकालेर सडकको यथार्थ र जनजीवनको धड्कनसम्म पुर्‍याउनुपर्ने धारणा राख्नुभयो ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा. विष्णुविभु घिमिरेले सिंहका कविता बौद्धिक र नयाँ पुस्तालाई प्रेरित गर्ने खालको भएको बताउनुभयो । प्रतिष्ठानका पूर्वसदस्यसचिव डा तुलसीप्रसाद भट्टराईले कृतिकार सिंह साहित्यिक सिर्जना, संस्थागत नेतृत्व र नयाँ स्रष्टालाई मार्गदर्शन गर्ने कार्यमा निरन्तर सक्रिय रहेको बताउनुभयो ।

पुस्तकमाथि समीक्षा गर्दै प्रा. डा. भरतकुमार भट्टराई र डा. रमेश शुभेच्छुले विम्ब, प्रतीक र अलङरका दृष्टिले कृति सशक्त रहेको टिप्पणी गर्नुभयो । कार्यक्रममा स्रष्टाहरू उषा शेरचन, सुनिता अधिकारी, योगाज राजन कविराज, रचिता दाहाल, कल्पना मरासिनी तथा बुद्धिमान महर्जनले ‘लोकतन्त्रको अस्मिता’बाट कविता वाचन गर्नुभएको थियो ।

सो अवसरमा ‘नेपाली सरोकार’ मासिककी प्रकाशक/सम्पादक रमा वली र ‘गृष्मा ग्राफिक प्रेस’का अध्यक्ष घननारायण श्रेष्ठलाई सम्मान गरिएको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button