तपाईँ सुन्दै हुनुहुन्छः

गौतमको ‘बीपी र विद्रोहका ती दिन’ विमोचन

इलाम । पत्रकार धर्म गौतमद्वारा लिखित ‘बीपी र विद्रोहका ती दिन’ पुस्तकको इलाममा गृह विमोचन भएको छ। इलाम सदरमुकामस्थित अरनिको सांस्कृतिक सङ्ग्रहालय, पुरानो दरबारमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य निष्कल राई प्रमुख अतिथिका रूपमा सहभागी थिए।

पुस्तकमा बीपी कोइरालासँग लेखक गौतमको भएको भेटघाट, संगत तथा त्यस क्रममा आफूले अनुभव गरेका विभिन्न घटना र प्रसङ्गलाई समेटेर पुस्तक तयार पारिएको छ। पुस्तकमा बीपी कोइरालासँगको सम्बन्धसँगै तत्कालीन राजनीतिक परिवेश र विद्रोहका दिनहरूका विभिन्न अनुभव तथा घटनालाई प्रस्तुत गरिएको छ।

यसअघि पुस्तकको काठमाडौँमा कांग्रेस नेता गगन थापाबाट विमोचन गरिएको थियो। त्यसपछि लेखक गौतमको गृहजिल्ला इलाममा पुस्तकको गृह विमोचन गरिएको हो।

गृह विमोचन कार्यक्रममा इलामका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, पत्रकार, साहित्यकार, लेखक तथा साहित्य–कला क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा पुस्तकका लेखक गौतमले आफ्नो पत्रकारिता यात्रा, नेपालको राजनीतिक आन्दोलनसँग जोडिएका अनुभव तथा पुस्तक लेखनको पृष्ठभूमिबारे धारणा राखेका थिए। साथै उनले बीपी कोइरालासँगको आफ्नो भेट, संगत तथा त्यस क्रममा आफूले अनुभव गरेका विभिन्न घटना र प्रसङ्गलाई पुस्तकमा समेटिएको बताए।

नेपाल पत्रकार महासङ्घ इलामका संस्थापक अध्यक्षसमेत रहेका गौतम लामो समयदेखि पत्रकारिता तथा साहित्य क्षेत्रमा सक्रिय छन्। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button