पठनपाठनमा कमी हुन नदिन सरकार प्रतिबद्ध : मन्त्री पोखरेल
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकाको सुकुम्वासी बस्तीबाट विस्थापित बालबालिकाको पठनपाठनमा कुनै कमी हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुसंगको मौखिक प्रश्नोत्तरका क्रममा मन्त्री पोखरेलले विस्थापित विद्यार्थीहरूको पठनपाठन नियमित गराउन नजिकका विभिन्न विद्यालयहरूमा स्थानान्तरण गरिएको बताउनुभयो ।
मन्त्री पोखरेलले बालाजुमा रहेको बुद्ध ज्योति बाल उद्यान आधारभूत विद्यालयका १ सय १६ जना विद्यार्थीलाई तरुण माध्यमिक विद्यालयमा तथा बालकल्याण माध्यमिक विद्यालयका १ सय ५४ जना विद्यार्थीलाई नेपाल युवक माध्यमिक विद्यालय, पकनाजोलमा स्थानान्तरण गरिएको सभालाई जानकारी गराउनुभयो ।
यस्तै कीर्तिपुरको राधा स्वामी सत्सङ्ग केन्द्रमा रहेका १० जना बालबालिकालाई क्याप्सन काठमाडौँ महानगरको सहयोगमा आवासीय सुविधासहित पूर्ण छात्रवृत्तिमा अध्ययनको व्यवस्था गरिएको र खरिपाटी, बोडे र इचङ्गु होल्डिङ सेन्टरमा रहेका ५९ जना बालबालिकालाई उनीहरूले रोजेको विद्यालयमा भर्ना गराइएको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।
विभिन्न होल्डिङ् सेन्टरमा रहेका बालबालिकाहरूलाई विद्यालय आउजाउका लागि सवारी सुविधा, खाजा, टिफिन बक्स, विद्यालय पोसाक, झोला, स्टेशनरी, पानीको बोतल तथा सरसफाइका सामग्री पनि उपलब्ध गराएको मन्त्री पोखरेलले बताउनुभयो ।
यस्तै अर्को एक प्रश्नको जवाफमा मन्त्री पोखरेलले विश्वविद्यालय तथा शैक्षिक संस्थामा सुशासन र योग्यता प्रणालीलाई केन्द्रमा राखेर पदाधिकारीहरू नियुक्ति प्रक्रिया अगाडि बढेको बताउनुभयो ।
उच्च शिक्षाको शैक्षिक वातावरण सुधारका लागि वार्षिक शैक्षिक कार्यतालिका तयार गरी कार्यान्वयन गर्न विश्वविद्यालयहरूलाई निर्देशन दिएको उल्लेख गर्नुहुँदै मन्त्री पोखरेलले आगामी दिनमा विश्वविद्यालयको भर्ना, परीक्षा, नतिजा प्रकाशन लगायतका कामहरू तोकिएको समयमै हुने बताउनुभयो ।
शिक्षामन्त्री पोखरेललाई सांसदहरु मदनकुमारी शाह गरिमा र भुवनबहादुर सुनारले प्रश्न सोध्नुभएको थियो ।
यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सामाजिक सद्भाव र एकता कायम राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले तराई मधेशमा साम्प्रदायिक तनाव रहेका बेला सरकारले जनतालाई आश्वस्त पार्नुपर्ने भन्दै घटना के कसरी भएको हो त्यसबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।
बैठकको सुरुमा आकस्मिक समय लिएर सांसद आनन्दप्रसाद ढुङ्गानाले सुनसरीको देवानगञ्जमा भएको घटनालाई सरकारले समयमै सम्बोधन गर्न नसक्दा पूर्वी तराईमा साम्प्रदायिक हिंसा फैलने जोखिम बढेको बताउनुभयो ।
बैठकमा सांसद जयन्तीदेवी राई, पूजा चौधरी, तुलप्रसाद विश्वकर्मा लगायतले सुरक्षा निकायले आवश्यकता भन्दा बढी बल प्रयोग गर्दा मानवीय क्षति हुन पुगेको र समस्या थप जटिल भएको बताउनुभयो ।
यसैगरी बैठकको शून्य समयमा बोल्ने सांसदहरुले सामाजिक सद्भाव फैलाउन राजनीतिक दल र नागरिक समाजले सक्रियता बढाउनुपर्ने, घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कारबाही हुनुपर्ने, घाइतेहरूको उपचार र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यसैगरी आफूले प्रतिनिधित्व गर्ने प्रदेशको प्रादेशीक सरोकारका विषयमा बोल्न समय लिएर बोल्ने क्रममा समेत सांसदहरुले सामाजिक सद्भाव र एकता बढाउन प्रदेश र स्थानीय सरकार बीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।
आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारले प्रदेश र स्थानीय सरकारका साथै सबै राजनीतिक दल, नागरिक समाज र धार्मिक समुदायलाई विश्वासमा लिनुपर्ने उल्लेख गर्नुहुँदै सांसदहरुले सबै पक्षसँग संवाद बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक साउन १८ गते सोमबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्