तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सद्भाव र एकता कायम राख्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सामाजिक सद्भाव र एकता कायम राख्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

सांसदहरुले तराई मधेशमा साम्प्रदायिक तनाव रहेका बेला सरकारले जनतालाई आश्वस्त पार्नुपर्ने भन्दै घटना के कसरी भएको हो त्यसबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । 

बैठकमा आकस्मिक समय लिएर सांसद आनन्दप्रसाद ढुङ्गानाले सुनसरीको देवानगञ्जमा भएको घटनालाई सरकारले समयमै सम्बोधन गर्न नसक्दा पूर्वी तराईमा साम्प्रदायिक हिंसा फैलने जोखिम बढेको बताउनुभयो । 

बैठकमा सांसद जयन्तीदेवी राई, पूजा चौधरी, तुलप्रसाद विश्वकर्मा लगायतले सुरक्षा निकायले आवश्यकता भन्दा बढी बल प्रयोग गर्दा मानवीय क्षति हुन पुगेको र समस्या थप जटिल भएको बताउनुभयो । 

यसैगरी बैठकको शून्य समयमा बोल्ने सांसदहरुले सामाजिक सद्भाव फैलाउन राजनीतिक दल र नागरिक समाजले सक्रियता बढाउनुपर्ने, घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कारबाही हुनुपर्ने, घाइतेहरूको उपचार र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसैगरी आफूले प्रतिनिधित्व गर्ने प्रदेशको प्रादेशिक सरोकारका विषयमा बोल्न समय लिएर बोल्ने क्रममा समेत सांसदहरुले सामाजिक सद्भाव र एकता बढाउन प्रदेश र स्थानीय सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारले प्रदेश र स्थानीय सरकारका साथै सबै राजनीतिक दल, नागरिक समाज र धार्मिक समुदायलाई विश्वासमा लिनुपर्ने उल्लेख गर्नुहुँदै सांसदहरुले सबै पक्षसँग संवाद बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button